दोधारमा क्रिकेटर कोहली

नयाँदिल्ली(एजेन्सी) । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कोरोना संकटपछिको क्रिकेट खेल पहिलाको जस्तो हुने या नहुने भन्नेमा दोधारमा छन् । उनले इन्स्टाग्राममा स्पिनर रविचन्द्रन अश्विनका साथ एक लाइभ कुराकानीमा यो कुरा बताएका हुन् ।

‘मलाई थाहा छैन, अगाडि के हुन्छ । यो सम्झना पनि मलाई अनौठो लाग्छ कि खेलिरहँदा तपाईं आफ्नो साथीसँग बसेर ताली पिट्ने चाहना राख्नुहुन्छ । तर अब त्यो सम्भव छैन । तपाईंले हात जोडेर पछाडि जानुपर्नेछ’, उनले भनेका छन्, ‘यो तबसम्म रहन्छ, जबसम्म कुनै खोप या उपचारको खोजी हुँदैन ।’ उनले यो नयाँ परिवर्तनलाई स्वीकार गर्न कुनै समस्या नहुने पनि बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले मे २२ मा क्रिकेटलाई पुनः शुरु गर्नका लागि निर्देशिका जारी गरेको थियो । ‘एक चिफ मेडिकल अफिसर वा बायोसेफ्टी अफिसर नियुक्त गर्ने बारे सोच्नु जरुरी छ । जो सरकारी नियमलाई पालना गराउन र पेशाको सुरक्षाको योजना लागू गराउनका लागि जिम्मेवार हुनेछ’, निर्देशिकामा भनिएको छ ।त्यस्तै निर्देशिकामा खेल भन्दा १४ दिन अघि खेलाडीलाई अलग्गै ट्रेनिङ क्याम्पमा राख्ने, उनीहरुको तापक्रम नाप्ने, कोभिड–१९ को मापन गर्ने, खेलाडीहरुको सामानको सेनिटाइज गर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने पनि उल्लेख छ ।

खेल मैदानमा खेलाडी तथा अम्पायरले पनि नियमलाई मान्नुपर्ने हुन्छ । जस अनुसार खेलाडीले पहिले जस्तो अम्पायरलाई टोपी, चस्मा, रुमाल, स्वेटर जस्ता सामान बोक्न दिन पाउनेछैन । त्यस्तै खेलाडीले क्रिकेटको बल सुरक्षित राख्नका लागि त्यसमा थुक लगाउन रोक लगाइएको छ । बललाई छोएपछि उनीहरुले आँखा, नाक र मुखलाई छुन पाउनेछैनन् ।

आइसीसीले यात्राका लागि विमान चार्टर्ड गर्दा त्यहाँको सीटमा सुरक्षित दुरी कायम राख्न भनेको छ । गत मार्च देखि एउटा पनि अन्तर्राष्ट्रिय क्रिकेट हुन सकेको छैन । यद्यपि, इंग्ल्याण्ड र वेस्टइण्डिज एक सुरक्षित वातावरणमा जुलाईंमा तीन टेस्ट म्याच सिरिज खेलाउने योजना बनाइरहेको छ ।