२०२१ मा दुई ठूला विवाह

मुम्बई(एजेन्सी) । कोरोना महामारीका कारण सन् २०२० मा हुने तयारीमा रहेको बलिउडको सबैभन्दा ठूला दुई विवाह रोकिएका छन् । यो वर्ष हुने भनिएको रणवीर कपूर र आलिया भट्ट तथा वरुण धवन र नताशा दलालको विवाह सन् २०२१ मा हुने भएको छ । धवन परिवार वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो वर्ष विवाह गर्नुको सट्टा आगामी वर्षलाई विवाह गर्ने योजना बनाइरहेको छ ।

‘पुरा धवन परिवार र दलाल परिवार दुवैले आगामी वर्ष विवाह गर्ने सहमति गरेका छन् । त्यसकारण वरुण र नताशाको विवाह सन् २०२१ मा हुनेछ’, उनीहरु निकट स्रोतले भन्यो ।

रणवीर र आलियाको विवाहको कुरा गर्दा यो वर्ष रणवीरका पिता ऋषि कपुरको निधन भयो । त्यही कारण कपूर परिवार शोकमा परेको अवस्थामा विवाह गर्नु उचित नहुने भएकाले उनीहरुको विवाह पनि सन् २०२१ का लागि सरेको छ । त्यसो त रणवीर र आलिया आफ्नो सम्बन्धलाई औपचारिक रुप दिनका लागि उत्साहित छन् । तर सन् २०२१ को मध्य भन्दा अगाडि यी दुईको विवाह हुने सम्भावना अत्यन्त न्यून छ ।