‘सातै प्रदेशमा एक–एक कला क्याम्पस आवश्यक’

काठमाडौैं । अग्रज कलाकार कृष्ण मानन्धरले नेपाली कलाक्षेत्रको विकासका लागि राज्यले पहल गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल ललितकला पत्रकार समाज (सोफाज) को नियमित कार्यक्रम ‘कलाका कुरा’ को ३८औँ शृंखलामा मानन्धरले कलाकारको चासो कम रहनु र राज्यको उदासीनताका कारण कलाक्षेत्रले नेपालमा व्यापकता पाउन नसकेको गुनासो गरे ।

भर्चुअल माध्यमबाट गरिएको कुराकानीमा कलाको क्रयविक्रय कम हुने हुँदा नेपालमा कलाको उपादेयता र विस्तार हुन नसकेको उनको ठम्याइ थियो । ‘आमजनमा कलामा रुचि नहुनु र कलाकारले पनि यसका बारेमा बुझाउँदै जान नसकेका कारण यो विधाले सोचेअनुसार प्रगति गर्न सकेको छैन’, उनले भने । साढे तीन दशक कला शिक्षणमा बिताएका मानन्धरले काठमाडौं बाहिर सातै प्रदेशमा अहिले कम्तिमा एक–एक वटा कला क्याम्पस खोल्नुपर्ने बताए ।

ललितकला क्याम्पसमा लामो समय अध्यापन गरेका मानन्धरले दुई पटक क्याम्पस प्रमुख भएर जिम्मेवारी सम्हाले । उनले त्यतिवेलै काठमाडौं बाहिर विराटनगर, पोखरा, नेपालगञ्ज लगायतका स्थानमा कला क्याम्पस खोल्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग बारम्बार पहल गरेको सुनाए ।  ‘पहिला पहिला सयजना विद्यार्थी राखेर कलाको कक्षामा पढाउनुपर्ने बाध्यता थियो । देशमा एकमात्र कला क्याम्पस भएकाले यो चाप हुन पुगेको थियो । अन्यत्र पनि कयाम्पस खोल्ने योजना बनाएर जाँदा त्रिविका पदाधिकारीले अन्य स्थानबाट माग नभएकाले सम्बन्धन दिन नसकिने जानकारी दिएर पन्छिन्थे’, उनले भने ।

सानैदेखि उनमा रहेको कलाप्रतिको अनुराग देखेर बुवाले उनलाई जुद्धकला पाठशालामा भर्ना गरे । २०२६ सालमा भारतको मुम्बईस्थित जेजे स्कुल अफ आर्टस्मा कला अध्ययन गर्ने छात्रवृत्ति पाएपछि उनको कलायात्राले नयाँ मोड लियो । कलाको अध्ययनसँगै अन्तर्राष्ट्रिय कलाको माहोल बुझ्ने अवसरको रुपमा लिएर उनले अध्ययनलाई अगाडि बढाए । अध्ययन सकेर नेपाल आएकै वर्ष उनी लगायत शशीविक्रम शाह, इन्द्र प्रधान र वत्सगोपाल वैद्य मिलेर स्किब समूह स्थापना गरेर कला प्रदर्शनीमा जुटे ।  यो समूहले १८ वटा देश विदेशमा सामूहिक कला प्रदर्शनी ग¥यो । एक किसिमले नेपाली कलालाई आममानिससम्म पुयाउन र कलाको माहोल निर्माणमा समूहले महत्वपूर्ण भूमिका खेल्यो ।

मानन्धरले नेपालमा कलाग्राम बनाउन सकिए नेपाली कलाको प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पुग्ने बताए । उनले भने, ‘कलाग्राम बनाउन सकिए देशीविदेशी कलाकारले एकैस्थानमा बसेर कला सिर्जना गर्ने, अनुभव आदानप्रदान गर्न सहज वातावरण बन्ने थियो । विदेशी कलाकार लामो समयका लागि आएर यहाँ बसेर नेपाली विषयलाई कलामा उतार्थे र नेपालको प्रचार प्रसार हुनेछ । यसका लागि पनि कलाग्रामको नितान्त आवश्यकता छ ।’  नेपाल ललितकला पत्रकार समाजले कलाका कुरामार्फत नेपाली कला जगतका बारेमा बहस गर्दै आएको अध्यक्ष केशव राज खनालले बताए । उनले कला र यसका विविध आयामका बारेमा समाजले स्थापना कालदेखि विविध गतिविधि गर्दै आएको जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गरेका थिए भने प्राविधिक सहयोग प्रोसी सोलुसनले गरेको थियो ।