साउदीका मस्जिदमा मास्क अनिवार्य

रियाद(एजेन्सी) । साउदी अरबमा दुई महिना पछि आइतबारबाट हजारौं मस्जिद पुनः खुला गरिएका छन् । तर कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि श्रद्धालुका लागि जारी गरिएको निर्देशिका कडा रुपमा पालना गर्नुपर्नेछ ।

मक्कामा इस्लामको सबैभन्दा पवित्र स्थल जनताका लागि बन्द गरिएको थियो । मध्य मार्चबाट बन्द गरिएको येरुशलमको अल–अक्सा मस्जिदलाई पनि आइतबारबाट खोलिएको छ । साउदी अरबका मक्का र मदीनापछि अल–अक्सा इस्लाम तेस्रो पवित्र स्थल हो । आइतबार मस्जिद खुल्नु अघि मस्जिदको प्रवेशद्वारमा हजारौंको संख्यामा श्रद्धालु भेला भएका थिए । अधिकांश श्रद्धालुले मास्क लगाएका थिए । भित्र पस्नासाथ उनीहरुले शरीरको तापक्रम नाप्नका लागि अस्वीकार गरेका थिए ।

साउदी अरबमा सरकारले ९० हजार मस्जिदलाई पुनः खुला गर्नका लागि नमाज पढ्ने कोलोनी, शौचालय र कुरान राख्ने स्थानलाई सेनिटाइज गरेको थियो । इस्लामिक मामिलाको मन्त्रालयले मस्जिदमा नमाज पढ्नका लागि नयाँ नियमका बारेमा लाखौं मानिसलाई उनीहरुको भाषामा मोबाइलमा सन्देश पठाइएको जनाएको छ ।

नियम अनुसार नमाज पढिरहँदा दुई मिटरको दुरी कायम राख्नुपर्नेछ । हरेक समय मास्क लगाउन अनिवार्य गरिएको छ भने हात मिलाउन वा अंकमाल गर्न वेवास्ता गर्नुपर्नेछ । त्यस्तै १५ वर्ष भन्दा कम उमेरका बच्चालाई मस्जिद लैजान अनुमति दिइएको छैन । वृद्ध र बिरामी मानिसलाई घरमै बसेर नमाज पढ्न भनिएको छ ।