सलमानका प्रिय संगीतकार वाजिदको निधन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानका प्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ । सलमानको ‘वान्टेड’, ‘दबंग’ र ‘एक था टाइगर’ जस्ता हिट फिल्ममा साजिद–वाजिद जोडीले हिट गीत दिएका थिए । साजिद वाजिदका दाई हुन् ।

मुम्बईको एक अस्पतालमा सोमबार उनले अन्तिम सास फेरेका हुन् । गायक सोनु निगमले फेसबुकमार्फत यो कुराको पुष्टि गरेका हुन् । वाजिदका भाई साजिदले वाजिद कोरोना भाइरस संक्रमित रहेको बताएका छन् । परिवारका अनुसार वाजिद मृगौलाका बिरामी थिए । उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । उनको घाँटीमा इन्फेक्सन भएको थियो । उनलाई चेम्बुरको सुराना अस्पतालमा भर्ना गरिएको थियो । वाजिद संगीत भर्नमात्र चर्चित थिएनन्, उनी गीत पनि राम्रो गाउँथे ।

साजिद–वाजिदको जोडीले सन् १९९८ मा फिल्म ‘प्यार किया तो डरना क्या’बाट बलिउड करियर शुरु गरेका थिए । यसपछि यो जोडीले सलमान खान अभिनित प्रायः फिल्ममा संगीत दिए । जसमा ‘गर्व’, ‘तेरे नाम’, ‘तुमको ना भूल पाएंगे’, ‘पार्टनर’ जस्ता फिल्म छन् । उनले ‘मेरा है जलवा’, ‘फेविकोल से’ र ‘राउडी राठौर’को चिन्ता ता चिता चिता’ जस्ता लोकप्रिय गीतमा स्वर दिएका थिए । उनले सलमानका लागि ‘प्यार करो ना’ र ‘भाई–भाई’ गीतका लागि संगीत दिएका थिए । लकडाउनका समयमा सार्वजनिक गरिएको यी गीतलाई दर्शकले खुबै मनपराएका छन् ।