बंकरमा लुके ट्रम्प

वासिङटन(एजेन्सी) । अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसको बाहिर भइरहेको प्रदर्शनलाई मध्यनजर गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित बंकरमा लगिएको छ । गत शुक्रबारदेखि प्रदर्शनकारीको भीड व्हाइट हाउसमा जम्मा हुन थालेपछि ट्रम्प त्यहाँ एक घन्टा भन्दा कम समय बसे । उनकी पत्नी मेलानिया ट्रम्प र छोरा बेरोन ट्रम्प त्यहाँ थिए वा थिएनन् भन्ने कुराको पुष्टि भएको छैन ।

प्रहरी हिरासतमा अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लायडको निधन भएपछि अमेरिकामा अश्वेत समुदायको प्रदर्शन हिंस्रक बनिरहेको छ । अमेरिकाका ३० सहर हिंसाको चपेटामा परेको छ । व्हाइट हाउस अगाडिको अवस्था बिग्रदै गएपछि सिक्रेट सर्भिस एजेन्ट राष्ट्रपति ट्रम्पलाई व्हाइट हाउसमा बनेको सुरक्षित बंकरमा लगेको हो । वासिङटनमा रातको समयमा कफ्र्यू पनि लगाउनु परेको थियो ।

समाचार अनुसार शुक्रबार बेलुका भएको उग्र प्रदर्शनले ट्रम्पको टिमलाई हैरान बनाएको छ । वासिङटनसमेत १५ राज्यमा नेशनल गार्ड सदस्य सक्रिय छन् । यसका अलावा २ हजार अन्य गार्डलाई पनि तयारी अवस्थामा राखिएको छ ।