रोबोटले उडाउनेछ फाइटर जेट

वासिङटन(एजेन्सी) । रुस पछि अमेरिकाले आफ्नो एडभान्स फाइटर जेटलाई रोबोटको माध्यमबाट उडाउने तयारी शुरु गरेको छ । अमेरिकाले यसका लागि ४ दशमलब ८ मिलियन डलर बजेटको मन्जुरी दिएको छ । जस अनुसार पहिलो चरणमा आर्टिफिसियल इन्टेलिजेन्सबाट लेस रोबोटलाई को–पाइलटका रुपमा तयार पारिनेछ । केही समय अघि रुसी बायुसेनाले आफ्नो एडभान्स फाइटर जेट रोबोटको सहयोगले उडाएको थियो ।

ओहियोको पेटरसन एयर फोर्स बेसमा रहेको यूएस एयरफोर्स रिसर्च लेबोरेटरीका अधिकारीहरुले गत बुधबार यूएस डिफेन्स एडभान्स रिसर्च प्रोजेक्ट्स एजेन्सी र ह्यूमन रोबोट इन्टरफेसका विशेषज्ञका साथ एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई टेकेर सबै एजेन्सीहरु मिलेर एयरफोर्सको लागि आर्टिफिसियल इन्टेलिजेन्स सिष्टमको विकास गर्नेछन् ।

यो प्रोजेक्टलाई एयर कम्बेट इवोल्यूसन नाम दिइएको छ । जसमा भविष्यमा दुश्मन देशहरुका फाइटर जेटसँग हुने डगफाइटका लागि मानव र मेसिनरी इन्टेलिजेन्स युक्त रोबोट पाइलट तयार पारिनेछ । रिपोर्ट अनुसार डगफाइटका दौरान मानव पाइलट युद्ध सम्बन्धी रणनीति तय गर्नेछ, जबकी विमान आफैं सटिक निशाना र फायरिङको निर्णय लिनेछ ।

यसका लागि अमेरिकी विमान निर्माता कम्पनी बोइङ पनि लोयल विङमेन कार्यक्रममाथि काम गरिरहेको छ । लोयल विङमेन एक मोड्यूलर मल्टी–रोल ड्रोन हो । जसमा एक डिटेचेबल नोसेकोन सिष्टम लगाइएको छ । यो सिस्टम मिसनको मापदण्डका आधारमा विभिन्न हतियारलाई विमानको एयरफ्रेममा छिटो फिट गर्न सक्छ ।