जो जातिवाद र रंगभेदको शिकार बने

मुम्बई(एजेन्सी) । अमेरिकामा जर्ज फ्लोइडका साथ अमेरिकी प्रहरील्े गरेको बर्बरतापछि कैयौं देशमा जातिवाद र रंगभेदको मुद्धा पुनः गर्माएको छ । अमेरिकाको कैयौं सहरमा यसका विरुद्ध जोडदार प्रदर्शन भइरहेका छन् । जातिवादको मुद्धामा भारतमा पनि चर्चा शुरु भएको छ ।

भारतीय सेलिब्रेटीहरुले जर्जको मृत्युलाई निन्दनीय घटना भनेका छन् । सेलिब्रेटीको प्रतिक्रिया पछि आम मानिसहरुको बुझाई दुई भागमा विभाजित भएको छ । कैयौं सेलिब्रेटीहरु ट्रोल भइरहेका छन् भने केहीको सराहना पनि गरिएको छ । जातिवादको बलिउडसँग पुरानो सम्बन्ध छ । कैयौं सेलिब्रेटीहरु जातिवाद र रंगभेदको शिकार भइसकेका छन् । कहिले उनीहरुको रंगबाट त कहिले उनीहरुको नामबाट यस्ता समस्या भोगेका छन् । बलिउड अभिनेत्री शिल्पा सेठ्ठी रंगभेदको शिकार भइसकेकी छन् । शिल्पाले यूकेमा एक रियालिटी शो ‘बीग ब्रदर’मा सहभागिता जनाएकी थिइन् । त्यहाँ उनले रंगभेदको विषयमा गरिएको टिप्पणीको शिकार हुनुपरेको थियो । शोका एक सहभागी जेड गुडीले शिल्पामाथि रंगभेद टिप्पणी गरेकी थिइन् । यो घटनाको निकै विरोध भएको थियो । यद्यपि शिल्पाले यो शोको शीर्ष उपाधि जितेकी थिइन् ।

अर्की अभिनेत्री प्रियंका चोपडा पनि रंगभेदको शिकार भइन् । अमेरिकाको विद्यालयमा उनले यो पीडा भोगेकी हुन् । स्कुलका समयमा उनको गाढा रंगको कारणले उनलाई मानिसहरुले ब्राउनी भनेर बोलाउँथे । उनले रंगभेदकै कारण एक हलिउड फिल्म गुमाउनु परेको खुलाएकी छन् ।  अभिनेता जोन अब्राहम, अरशद वारसी र अभिनेत्री विपाशा बसु पनि जातिवादको शिकार भइसकेका छन् । यो घटना फिल्म ‘दे दना दन गोल’को छायांकनको समयमा भएको थियो । यो फिल्मको सुटिङ लण्डनको एक ट्राफिक सिग्नलमा भइरहेको थियो । त्यही बेला एक गाडी आएर रोकियो । जुन गाडीमा दुई गोरा केटा थिए । उनीहरुले एक गीत गाए, जुन गीतले भारतको मजाक गरिरहेको थियो ।

अभिनेता शाहरुख खानलाई अमेरिकाको एयरपोर्टमा घण्टौंसम्म चेकिङ गरेको विषयले भारतमा निकै चर्चा पायो । शाहरुखले कैयौं पटक अमेरिकामा जातीवादको शिकार हुनु परेको छ । सन् २००९ मा अमेरिकाको एयरपोर्टमा उनलाई प्रहरीले शाहरुख नाम सुनेपछि २ घण्टासम्म राखेको थियो । त्यस्तै सन् २०१२ मा नीता अम्बानीसँग न्यूयोर्कको एक युनिभर्सिटीमा लेक्चर दिन जाँदा पनि यस्तै समस्या भोगेका थिए । यी कलाकारबाहेक नील नितिन मुकेश, नवाजुद्दीन सिद्दकी, इमरान खान पनि जातिवाद र रंगभेदको शिकार भइसकेका छन् ।