काठमाडौं । बलिउड अभिनेता करणवीर बोहरा ‘द क्यासिनो’का माध्यमबाट डिजिटलमा आफ्नो डेब्यूका लागि तयार छन् । यसको अधिकांश भागको छायांकन मुम्बईमा गरिएको छ भने केही दृश्यलाई वर्षको शुरुवातमा नेपालमा छायांकन गरिएको थियो । करणवीरका लागि आउटडोर सुटिङ अर्थात् नेपालको सुटिङ निकै सुन्दर अनुभव रह्यो ।
‘आउटडोर सुटिङको आफ्नै फरक कुरा हुन्छ । वर्षको शुरुवातमा नेपालमा यसलाई खिचिनु मेरा लागि केही फरक र सुन्दर अनुभव रह्यो’ उनले भनेका छन्, ‘मानिस, स्थान र अवश्य पनि त्यहाँको खाना सबैभन्दा राम्रो छ । त्यहाँका मानिसहरु उत्साहका साथ तपाईंको स्वागत गर्दछन् । जसले हाम्रो सुटिङ अनुभवलाई अझ सम्झना योग्य बनाइदियो । काठमाडौं सुटिङका लागि निकै सुन्दर लोकेसन हो । निकै सुन्दर र उम्दा, जसकारण हामीलाई आफ्नो सुटिङको समय बढाउनुपर्यो ।’
चीनमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को महामारी शुरु भएपछि उनीहरुले नेपालमा छायांकन गर्ने निर्णय लिएका थिए । ‘नेपाल जानु अघिल्लोदिन हामीले चीनमा कोभिड–१९को आतंकका बारेमा समाचार थाहा पायौं । त्यो कुराले हामीलाई डर भयो । नेपालमा भर्खरै मात्र भाइरस छिरेको थाहा पायौं । तर पनि त्यहाँ गएर छायांकन गर्यौं । जुन हाम्रा लागि एउटा अभूतपूर्व अनुभव रह्यो ।’ उनले भनेका छन् ।
यो सिरिजमा एक धनी तर विनम्र युवकको कथा छ । जो आफ्नो पिताको मल्टीबिलिनियर डलरको क्यासिनोको उत्तराधिकारी हुन्छ । यसमा कैयौं रहस्यमयी चीजहरु छन् जसले उच्च ओहोदाका व्यक्तिहरुको षड्यन्त्रको पर्दाफास गर्छ ।