घरको सामान बेच्दै मिष्टर बजाज

मुम्बई(एजेन्सी) । लकडाउनले हरेक क्षेत्रको आम्दानीमा ठूलो असर पारेको छ । यसबाट मनोरन्जन जगत पनि अछुतो छैन । आरामदायी जीवन बिताउने सेलिब्रेटीहरु हालका दिनमा सुटिङ रोकिएपछि घरमा नै बसिरहेका छन् । केही कलाकार त आर्थिक संकटको सामना पनि गरिरहेका छन् । यस्तै अवस्थामा प्रख्यात अभिनेता रोनित रोय छन् ।

रोनित लकडाउनका कारण आर्थिक संकट परेपनि आफूले अप्ठ्यारोमा परेका मानिसहरुको सहयोग गरिरहेका छन् । उनले आफू लकडाउनका कारण निकै चिन्तित भएको खुलाए । गत जनवरीबाट उनको आम्दानी रोकिएको छ र उनको व्यापार पनि मार्चबाट ठप्प छ । एक रुपैंयाँ पनि कमाई नभए पछि उनी डिप्रेसनबाट जोगिनका लागि हिम्मतका साथ काम गरिरहेका छन् ।

‘अभिनयका अलावा मेरो एउटा सानो व्यवसाय पनि छ । जसबाट काम चलिरहेको थियो । मार्चपछि त्यो पनि बन्द भयो । अहिले मसँग जे कुरा छन् तीमध्येबाट केही सामान बेच्ने तयारी गरिरहेको छु । त्यो पैसाले सय परिवारलाई सहयोग पुग्नेछ । म धेरै पैसावाला त होइन, तर यो काम गरिरहेको छु । यस्तो अवस्थामा ठूला ठूला च्यानल र प्रोडक्सन हाउसले पनि केही गर्नुपर्छ’, उनले भनेका छन् ।

रोनितले चर्चित हिन्दी सिरियल ‘कसौटी जिन्दगी के’ मा मिष्टर बजाजको भूमिका निभाएपछि चर्चामा आएका थिए । यो चरित्र यति हिट भयो कि अहिले जोकोहीले उनलाई मिष्टर बजाजकै नामले बोलाउछन् । उनले ‘तेरे नाम’, ‘बम विस्फोट’, ‘द गर्ल इन यलो बुट्स’, ‘स्टुडेण्ट अफ द इयर’, ‘मिडनाइट चिल्ड्रेन’, ‘सुटआउट एट वाडला’ र ‘बदसूरत’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।