ट्वीटरमा डन ३ को चर्चा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित फिल्म ‘डन २’ रिलिज भएको ९ वर्ष पुरा भइसकेको छ । यो फिल्म बक्सअफिसमा हिट साबित भयो । जसले शाहरुखलाई बक्सअफिसको किङ नै बनाइदियो । यो फिल्म हेरेर निस्कने दर्शकले फिल्मका निर्देशक फरहान अख्तरलाई फिल्मको तेस्रो भाग कहिले आउँछ भनेर सोध्दथे ।

रिलिजको नौ वर्ष पुग्दा पनि फ्यानहरुले यो प्रश्नको जवाफ पाउन सकेका छैनन् । शाहरुखका फ्यानहरु फिल्मको नयाँ भागको बारेमा ट्वीटरमा बारम्बार सोधिरहन्छन् ।
यसपटक पनि यस्तै दृश्य ट्वीटरमा देखिएको छ । शाहरुखका फ्यानले शुक्रबार ट्वीटरमा ‘वीवान्टडन३अपडेट’ ह्यासटेगलाई ट्रेन्डिङमा ल्याएका छन् । उनीहरु शाहरुख र फिल्मका निर्मातालाई फिल्म कहिले बन्ने भनेर सोधिरहन्छन् ।

केही समय अघि निर्देशक फरहानले आफूसँग ‘डन ३’ का बारेमा राम्रो सोच नभएकोले फिल्म घोषणा गर्न नपाएको बताएका थिए । ‘यदी मसँग डनको स्क्रिप्ट भएको भए म खुशीका साथ यसको घोषणा गर्थे, किनकी शाहरुखका फ्यान प्रायः मलाई यो प्रश्न सोधिरहन्छन् । मसँग डन ३ को कुनै आइडिया भयो भने म दर्शकलाई यो कुरा सुनाउनेछु’, उनले भनेका छन् ।

फिल्म ‘जीरो’ पछि शाहरुखले कुनै पनि फिल्ममा साइन गरेका छैनन् । शाहरुख निर्देशक राजकुमार हिरानीसँग नयाँ फिल्मको साइन गर्दैछन् भन्ने कुरा आए पनि त्यो आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।