सलमानको फार्महाउसमा बिग बोस १४

मुम्बई(एजेन्सी) । भारतमा टेलिभिजन शोको सुटिङ शुरु हुने घोषणा हुनासाथ चर्चित रियालिटी शो ‘बिग बोस १४’का निर्माताहरु यसको तयारीमा जुटिसकेका छन् । यसका निर्माताहरु चाँडै नै यो विवादित रियालिटी शोलाई अनएयर गर्न चाहन्छन् । लकडाउन सकिनासाथ ‘बिग बोस १४’ को सेटमा यसको चहलपहल शुरु हुनेछ ।

यसका निर्माताहरु शोको सेटमा सामाजिक दुरी कायम गर्नेमा प्रतिबद्ध छन् । त्यसकारण ‘बिग बोस १४’ थिम नै कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राखिएर डिजाइन गरिनेछ । यसपटकको शोको थिम जंगललाई गरिनेछ, जहाँ सेलिब्रेटीसँगै सर्वसाधारण शोको हिस्सा बन्न सक्नेछन् । यो शोको छायांकनका लागि एकपटकमा तीन सय बढी निर्माण समूहको आवश्यकता पर्दछ । जसमा प्रोडक्सन टिम, कन्ट्रोल रुम, प्राविधिक, सम्पादक र क्रिएटिभ टिम सामेल छन् । कोरोना भाइरसका कारण निर्माताले पुरा टिमसँग काम गर्न पाउनेछैनन् । त्यही कारण सानो टिम बनाएरै शोको छायांकन गर्ने सोच निर्माण पक्षको छ ।

समाचारअनुसार यो शो शुरु हुन केही समय लाग्नेछ । कोरोना भाइरसको लकडाउनका कारण रोहित सेठ्ठीको रियालिटी शो ‘खतरों के खेलाडी १०’को कैयौं भाग हालसम्म अनएयर भएको छैन । यस्तो अवस्थामा निर्माताले ‘बिग बोस १४’ अक्टोबरमा सार्वजनिक गर्ने योजना बनाएका छन् । यही समयमा सार्वजनिक हुने अमिताभ बच्चनको रियालिटी शो ‘कौन बनेगा करोडपति’ सँग ‘बिग बोस १४’को कडा टक्कर हुने अनुमान गरिएको छ ।

यसपटकको शोमा पनि अभिनेता सलमान खान नै होस्ट हुनेछन् । उनी आफ्नो पानवेल फार्म हाउसबाटै शोको प्रोमो र भागहरुको छायांकन गर्नेछन् । सलमानले शोको सेटमा सामाजिक दुरी कायम गर्न जोड दिइरहेका छन् । यसपटकको ‘बिग बोस’का लागि टेलिसिरियल ‘हमारी बहू सिल्क’मा अभिनय गरेका अभिनेता जान खान र ‘तुझसे है राबता’ स्टार सगुन पाण्डेलाई प्रस्ताव गरिएको छ । उनीहरुबाहेक सुरभि ज्योति, शुभांगी आत्रे र चाहत खन्नालाई पनि प्रस्ताव गरिएको थियो । तर तिनैजनाले यो प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।