काठमाडौं । म नेपाली लिमिटेड नेपाल र सिजी कर्पोरेसन ग्लोबलको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२०’ हुने भएको छ । आयोजकले राजधानीमा डिजिटल पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएको हो । कार्यक्रममा सिजी कर्पोरेसन ग्लोबलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, ‘मिस युनिभर्स नेपाल २०१७’ नग्मा श्रेष्ठ, ‘मिस युनिभर्स’ जोजीबीनी टुन्जी, ‘मिस युनिभर्स नेपाल २०१८’ मनिता देवकोटा र गायिका इन्दिरा जोशीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा म नेपालीकी क्रिएटिभ डिरेक्टर अनुशा पीटरसनले मिस युनिभर्स नेपाल एपको पहलबारे जानकारी गराएकी थिइन् । आयोजकले कोभिड—१९ महामारीको समयमा प्रतिस्पर्धी र फ्यानहरुको सुरक्षा, जहाँ रहेपनि जस्तो आर्थिक अवस्थाका भएपनि नेपाली मन भएका युवाहरुलाई प्रतिस्पर्धा गराउँदै केहिका लागि लाभबाट धेरैका लागि अवसरको रुपमा सहभागीहरुलाई प्रतियोगितामा रुपान्तरण गर्ने जनाएको छ ।
‘मेरा नजरमा नेपाली महिलाहरु साहसी, बोल्ड र सुन्दर छन् । मैले सात वर्षको उमेरदेखि नै सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना देखेकी थिएँ । मलाई लस भेगसमा मिस युनिभर्स पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व लागेको थियो । आज, म मिस युनिभर्स नेपालको राष्ट्रिय निर्देशक भएकी छु’, नग्माले भनिन् । सीजी कर्पोरेसन ग्लोबलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत चौधरीले पूर्व मिस युनिभर्स नग्मासँग साझेदारी गरेर विश्वकै प्रतिष्ठित मिस युनिभर्स नेपालको ब्यान्डवागन ल्याउन पाउँदा खुशी लागेको बताए ।