लकडाउनले बढायो सय किलो तौल

वुहान(एजेन्सी) । चीनमा कोरोना भाइरस लकडाउनका कारण बुहान सहर करिब पाँच महिनासम्म बन्द भयो । यो समयमा वुहानको घरमा बस्ने २६ वर्षका झोउको शरीरको तौल अचानक सय किलो भन्दा बढी भयो । सहरमा कोरोना भाइरसका बिरामीको बढ्दो संख्या र अस्पतालमा बढेको भीडका कारण उनले आफ्नो उपचार गर्न ढिलाइ गरे ।

उनको ज्यान बढेको कुरा उनलाई अस्पताल भर्ना गरिएपछि मात्र खुलासा भयो । उनको शरीरको वजन २ सय ८० केजी भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी हाल वुहानमा सबैभन्दा मोटो शरीर भएको मानिसका रुपमा चिनिएका छन् ।

झोउ सहरको एक इन्टरनेट क्याफेमा काम गर्थे । तर लकडाउनका कारण उनी पाँच महिनासम्म घरमा नै कैद भए । जसकारण उनको शरीरको वजन पनि बढ्यो । लकडाउनका समयमा अकस्मात शरीरको वजन बढेपछि उनलाई घुमफिर गर्न पनि समस्या आयो ।

सन् २०१९ को अन्त्यसम्ममा उनको वजन १ सय ७७ किलो थियो । जनवरीमा वुहान सहरमा कोरोना संक्रमणका कारण लकडाउन घोषणा गरियो । त्यही समयमा झोउको वजन सय किलो बढेको हो । तर संक्रमणको डरले उनले उपचार गराएनन् । जसकारण उनले ठूलै समस्या भोग्नुपर्यो ।