जोनसन एण्ड जोनसन उत्पादन बन्दको घोषणा

लण्डन(एजेन्सी) । अमेरिकाको प्रहरी हिरासतमा अश्वेत जर्ज फ्लोयडको मृत्युपछि चलेको ‘ब्ल्याक लाइफ म्याटर’ आन्दोलनले सारा विश्व चलमलाइरहेको छ । यो आन्दोलनले व्यापकता लिएपछि धेरै कम्पनी तथा अभियानहरुले आफ्नो नीतिमा पुनर्विचार गर्नुपरेको छ । उनीहरुले अफ्रिकी अमेरिकी समुदाय प्रति नैतिक रुपमा समर्थन गर्न आफ्नो नीतिलाई पुनर्विचार गर्न थालेका हुन् ।

यही मेसोमा प्रख्यात कम्पनी जोनसन एण्ड जोनसनले पनि एउटा आश्चर्यजनक निर्णय लिएको छ । यो कम्पनीले स्किन व्हाइटनिङ क्रिम अर्थात् गोरो बनाउने क्रिम नबनाउने निर्णय लिएको हो । कम्पनीले यस किसिमको क्रिम उत्पादन र बिक्रीमा रोक लगाएको छ ।

कम्पनीले आफ्नो उत्पादन एसिया र मध्यपूर्वमा निकै लोकप्रिय रहेको जनाएको छ । यो कम्पनी आफ्नो उत्पादनलाई लिएर निकै लामो समयदेखि आलोचना खेपीरहेको थियो । कम्पनीमाथि आफ्नो उत्पादनका माध्यमबाट जातीय असमानतालाई बढावा दिएको आरोप लागेको थियो ।