मल्लिकाले किन छाडिन् बलिउड ?

मुम्बई(एजेन्सी) । ‘भीगे होठ तेरे, प्यासा दिल मेरा’बाट चर्चामा आएकी अभिनेत्री मल्लिका शेरावत एक समय बलिउडकी हट केक नै थिइन् । दक्षिण भारतीय चर्चित निर्देशक मणि रत्नमको फिल्म ‘गुरु’को आइटम गीत ‘मैया मैया’ले पनि उनलाई उत्तिकै चर्चा दियो ।

मल्लिकाले कलेज पढ्दाताका पाइलक करण सिंह गिलसँग विवाह गरेकी थिइन् । तर उनीहरुको विवाह धेरै लामो समयसम्म चलेन । मल्लिकालाई ग्ल्यामर दुनियाँ प्रति लोभ थियो, त्यही कारण पतिसँग सम्बन्धविच्छेद गरी उनी मुम्बई आइन् । ‘ख्वाइस’ र ‘मर्डर’को सफलतापछि मल्लिकाले एकपछि अर्को राम्रा फिल्ममा अभिनय गरिन् । ‘सादीके साइड इफेक्ट’, ‘वेलकम’ र ‘डबल धमाल’ पछि उनले बलिउडलाई छोडेर हलिउडमा काम गर्ने घोषणा गरिन् ।

‘हिस्स’ र ‘पोलिटिक्स अफ लभ’मा काम गरेपछि मल्लिका यी फिल्ममा सफल हुन सकिनन् । मल्लिकाले हालै मात्र एक अन्तरवार्तामा बलिउड छोड्नुपर्ने कारण बताइन् । ‘मेरो हातमा इन्डीसेन्ट प्रपोजल आउन थाले । मलाई जुन फिल्मको अफर आउथ्यो, त्यसमा या त अभिनेता या निर्माता–निर्देशक म हट दृश्यमा अभिनय गरौं भन्ने चाहन्थे । उनीहरुको चाहना कि उनीहरुको माग पुरा होस् भन्ने थियो कि त कम कपडा लगाओस् भन्ने थियो’, उनले भनेकी छन्, ‘म यदी एक्सपोज भ एभने आफ्नो इच्छा अनुसार हुन्छु, अरुको भनाईमा हुन्नँ । उद्योगका केही नामी व्यक्तिसँग म यति डराएँ कि मलाई बलिउडमा काम गर्न समस्या नै हुन्छ जस्तो लाग्यो ।’

मल्लिका मुम्बई र लसएन्जल्सबाट निस्किएर पेरिसमा आफ्नो प्रेमी सिरिल अक्सेनफेनका साथ फ्रान्सेली फिल्ममा भविष्य बनाउन फ्रान्स गइन् । गत वर्ष तीन नकाबधारीले उनको घरमा हमला गरेर प्रेमीलाई मार्ने प्रयास गरेका थिए । यो घटनापछि मल्लिका मुम्बई फर्किइन् ।