ट्वीटरबाट टाढिइन् सोनाक्षी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा सामाजिक सन्जालमा निकै सक्रिय रहन्छिन् । इन्स्टाग्रामदेखि लिएर ट्वीटरसम्म यी अभिनेत्री हरेक प्लेटफर्मममा आफ्नो विचार सार्वजनिक गरिरहन्छिन् । फ्यानसँग कुराकानी गर्ने प्रत्यक्ष माध्यम पनि उनका लागि सामाजिक सन्जाल नै हो । तर अब सोनाक्षीले आफूलाई ट्वीटरबाट दुरी बढाएकी छन् । उनले आफ्नो ट्वीटर एकाउन्ट डीएक्टिवेट गरेकी छन् ।

उनले इन्स्टाग्रामका माध्यमबाट आफू ट्वीटरमा नरहेको जानकारी दिएकी छन् । ‘आगो लाग्यो बस्तीमा, हामी आफ्नो मस्तीमा । बाइ बाइ ट्वीटर’ । उनले लेखेकी छन् । सोनाक्षीका अनुसार ट्वीटरमा धेरै नकारात्मक कुरा आउन थालेका छन् । उनले मानसिक स्वास्थ्यलाई राम्रो बनाउन नकारात्मक कुराबाट टाढिनुपर्ने बताएकी छन् । ‘आजको समयमा धेरै नकारात्मक कुराहरु ट्वीटरमा हेर्नुपर्छ । म आफ्नो एकाउन्ट डीएक्टिवेट गरिरहेको छु’, उनले लेखेकी छन् ।

जब सुशान्त सिंह राजपुतको निधन भयो, मानसिक स्वास्थ्यका विषयमा तिब्र बहस भयो । ट्वीटरमा कैयौं बलिउड सेलिब्रेटीमाथि प्रयोगकर्ताले आक्रोश पोखे । त्यसो त सामाजिक सन्जालमा धेरैपटक सोनाक्षी ट्रोलको शिकार पनि भइसकेकी छन् । केही समय अघि रामायणको कारण सोनाक्षी ट्रोलर्सको निशानामा परेकी थिइन् ।