सुशान्तको बायोपिकमा जनताको लगानी

मुम्बई(एजेन्सी) । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको बायोपिक फिल्म जनताको लगानीमा बन्ने भएको छ । हिन्दी, तेलुगू र तमिल भाषामा निर्माण हुने फिल्मलाई निर्माताले सन् २०२२ मा रिलिज गर्ने योजना बनाएका छन् ।

समाचार अनुसार आम जनताको रकमबाट एक फन्ड निर्माण गरिनेछ । यसका लागि एक आधिकारिक सामाजिक सन्जाल पेज बनाइनेछ । हालसम्म नाम घोषणा नगरिएको यो फिल्मको निर्देशन निखिल आनन्दले गर्नेछन् ।

आनन्दले शारीरिक रुपले सुशान्त आम मानिसमाझ नहुनु दर्दनाक भए पनि उनी आम मानिसका लागि एउटा प्रेरणा बन्न चाहेको खुलाए । ‘उनी एक उत्कृष्ट कलाकार मात्र थिएनन, एक बुद्धिमानी मानिस पनि थिए । म आशा गर्छु कि उनी जहाँ छन्, खुशी रहुन्’, निर्देशक आनन्दले भनेका छन्, ‘यो फिल्म नै उनका लागि मेरो श्रद्धाञ्जली हुनेछ । उनलाई अमर बनाउनका लागि यो भन्दा अर्को काम केही छ जस्तो लाग्दैन ।’

उनले धेरै भन्दा धेरै मानिसलाई फिल्म उद्योगको हिस्सा बनाउनका लागि फिल्मले चालेको अभियान सहयोगसिद्ध हुने दाबी गरे । यो परियोजनालाई अनुसन्धान र तयारीको एक हिस्सा बनाउन र फिल्मलाई सटिक बनाउनका लागि आनन्द सुशान्तका आफन्त, परिवार तथा साथीभाईसँग भेटघाट गर्ने योजना बनाइरहेका छन् ।