एकपछि अर्को फिल्ममा गली ब्वाइका सिद्धान्त

मुम्बई(एजेन्सी) । निर्देशक जोया अख्तरको सुपरहिट फिल्म ‘गली ब्वाइ’बाट दर्शकमाझ धमाल मच्चाएका अभिनेता सिद्धान्त चतुर्वेदीलाई बलिउडबाट लगातार ठूला ठूला अफर आइरहेका छन् । केही दिन अघि उनले यशराज ब्यानरको फिल्म ‘बन्टी और बबली २’मा हस्ताक्षर गरेका थिए । समाचार अनुसार उनी एक्सल इन्टरटेनमेन्टको नयाँ एक्सन इन्टरटेनर फिल्ममा देखिँदैछन् । यो फिल्मको छायांकन यसै वर्षको अन्त्यमा हुनेछ ।

सिद्धान्तको एक्सन फिल्म ठूलो बजेटमा निर्माण हुनेछ । जसको अधिकांश हिस्सा भारत बाहिर छायांकन गरिनेछ । फिल्मको छायांकन कोरोना महामारी साम्य भएपछि शुरु गर्ने योजना बनाइएको छ । यद्यपि निर्माताले फिल्मको आशातित सुटिङ मिति फाइनल गरेका छन् । जस अनुसार यो वर्षको अन्त्यमा काम शुरु हुनेछ ।

रितेश सिद्धवानी र फरहान अख्तरले निर्माण गर्ने यो फिल्म एक रिभेन्ज ड्रामा हुनेछ । जसमा जबरदस्त एक्सन दृश्य हुनेछन् । फरहानले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । अभिनेता सिद्धान्तले फिल्मका लागि मार्सल आर्टको तालिम लिइरहेका छन् । सिद्धान्तले केही समय अघि इन्स्टाग्राममा एक तस्बिर राख्दै आफू एक्सन जनरामा आउनसक्ने जनाउ दिएका थिए ।

सिद्धान्तले धर्मा प्रोडक्सनको अर्को एक फिल्ममा पनि काम गर्दैछन् । जसमा उनी दीपिका पादुकोण र अनन्या पाण्डेसँग देखिनेछन् । यो फिल्मको छायांकन श्रीलंकामा हुनेछ । फिल्म निर्माताहरु लकडाउन सकिएपछि पहिलो समय तालिकाको काम शुरु गर्ने योजनामा छन् ।