डिभोर्सपछि खेतीपातीमा नवाजुद्दीन

मुजफ्फरनगर(एजेन्सी) । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी पत्नी आलिया सिद्दीकीसँग अलग्गिएपछि खेतीपातीमा लागेका छन् । उनलाई यसअघि पनि कैयौं पटक खेतमा काम गर्दै गरेको देखिन्थ्यो । तर लकडाउनका समयमा उनी पुनः इद भन्दा अगाडि मुम्बईबाट सडकमार्ग हुँदै आफ्नो उत्तर प्रदेशको मुजफ्फनगरस्थित घर पुगेका छन् । उनले आफूले खेतमा काम गरिरहेको भिडियो शेयर गरेका छन् ।

भिडियोमा नवाजुद्दीन एक खेतमा सिचाई गर्नका लागि नालामा पानी लगाउने तयारी गरिरहेका छन् । उनले खाँटी उत्तर प्रदेशवाला लुगा लगाएका छन् । उनले एक टीसर्टसँगै ट्राउजर जस्तो पेन्ट पनि लगाएका छन् ।

कामको कुरा गर्दा नवाजुद्दीनको फिल्म ‘घूमकेतू’ निकै ढिलाइ गरी मे २२ मा टेलिभिजनमा प्रसारण भयो । यो फिल्म सन् २०१४ मा पुरा भएको थियो । पुष्पेन्द्र नाथ मिश्राद्वारा निर्देशित र फेन्टम फिल्म्स तथा सोनी पिक्चर्स नेटवर्क्स (एसपीएन) ब्यानरमा बनेको यो फिल्ममा अनुराग कश्यप, अभिनेत्री इला अरुण, रघुबीर यादव, स्वानन्द किरकिरे र रागिनी खन्नाको पनि अभिनय छ ।