लभ इन नेपालपछि स्पटलेसमा सोनु निगम

मुम्बई(एजेन्सी) । भारतका लोकप्रिय गायक सोनू निगमले अभिनयमा पुनरागमन गरेका छन् । सोनूले सर्ट फिल्म ‘स्पटलेस’बाट अभिनयमा कमव्याक गरेका हुन् । यो फिल्म एसिड आक्रमणको मुद्दामा आधारित छ । फिल्मको ट्रेलरलाई सोनूले शेयर गरेका छन् । यो फिल्म बिहीबार सोनूको युट्युब च्यानलबाट रिलिज हुँदैछ ।

सोनूको यो फिल्म कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा रिलिज भइसकेको छ । सौरभ पाण्डेको निर्देशनमा बनेको यो सर्ट फिल्ममा सोनूसँगै श्वेता रोहिरा प्रमुख भूमिकामा छन् । सोनुले सन् २००४ मा फिल्म ‘लभ इन नेपाल’बाट अभिनेताका रुपमा अभिनयमा डेब्यू गरेका थिए । यो फिल्ममा नेपाली अभिनेत्री झरना बज्राचार्यको पनि अभिनय थियो । सोनू र झरनाले अभिनय गरेको फिल्मको ‘कतरा कतरा’ गीत विवादसँगै चर्चामा आएको थियो ।

सोनू पछिल्लो दिनमा टी–सीरिजका एमडी र अध्यक्ष भुषण कुमारलाई लिएर एक भिडियोका कारण चर्चामा आएका छन् । भिडियोमा सोनूले भुषणमाथि कैयौं गम्भीर आरोप लगाएका थिए । सोनूको आरोपको जवाफ भूषणकी पत्नी दिव्या खोसला कुमारले सामाजिक सन्जालका माध्यमबाट दिइसकेकी छन् ।

सोनूसँग अभिनय गरेकी श्वेता अभिनेता सलमान खानकी मुहंबोली बहिनी हुन् । उनले अभिनेता पुल्कित सम्राटसँग विवाह गरेकी थिइन्, तर त्यो विवाह लामो समयसम्म चलेन । सोनूले फिल्म ‘कामचोर’मा बाल कलाकारका रुपमा डेब्यू गरेका थिए । सनी देओलको डेब्यू फिल्म ‘बेताब’मा उनले सनीको बाल्यकालको भूमिका निभाएका थिए । सोनूको सम्झनालायक फिल्म भने ‘जानी दुश्मन–एक अनोखी कहानी’ हो । सन् २००२ मा रिलिज यो मल्टीस्टारर फिल्ममा सोनूले सनी देओलको सौतेलो भाईको भूमिकामा अभिनय गरेका थिए ।