गोविन्दाको कार दुर्घटना

मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात अभिनेता गोविन्दाको कार दुर्घटनामा परेको छ । उनका छोरा यशवर्धन आहूजा र चालक रहेको गाडीसँग बुधबार साँझ अर्को गाडी ठोक्किएको थियो । अर्को गाडी यशराज ब्यानरको गाडी रहेको आशंका गरिएको छ ।

दुर्घटनामा कोही घाइते नभए पनि गाडीमा सामान्य क्षती भएको छ । प्रहरीका अनुसार दुर्घटनापछि दुवै पक्षबीचको सामान्य सहमतिमा कुरा टुंग्याइएको थियो । ५६ वर्षका गोविन्दाका छोरी टीना र छोरा यशवर्धन छन् । टीनाले फिल्ममा आफ्नो भाग्य चम्काइसकेकी छन् भने अब यशले पनि पनि भाग्य चम्काइनेमा गोविन्दा आशावादी छन् ।

यशले लण्डनबाट फिल्म मेकिङको कोर्ष गरेका हुन् । यसपछि उनले साजिद नाडियाडवालाको मार्केटिङ टिमसँग पनि काम गरेका थिए । यश सलमान खानको फिल्म ‘किक’को सिक्वेलबाट डेब्यू गर्ने भनिए पनि कोरोना संकटका कारण फिल्मको काम रोकिएको छ ।

कामको कुरा गर्ने हो भने गोविन्दा पछिल्लोपटक सन् २०१९ मा रिलिज कमेडी ड्रामा फिल्म ‘रंगीला राजा’मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भएको थियो ।