कोरोनाका कारण पाकिस्तानी विमान दुर्घटना !

इस्लामाबाद(एजेन्सी) । गत महिना पाकिस्तानमा भएको विमान दुर्घटना कोरोनाका कारण भएको खुलेको छ । यो दुर्घटनामा ९७ जनाको मृत्यु भएको थियो ।पाकिस्तानका उड्डयन मन्त्री गुलाम सरवर खानले संसदमा हवाई दुघटनाको कारण कोरोना भाइरस भएको दाबी गरेका हुन् । उनका अनुसार विमानका पाइलटले विमान चलाइरहँदा कोरोना भाइरसका बारेमा कुराकानी नगरेको भए यति ठूलो दुर्घटना हुँदैन थियो । उनले पाइलको बढी आत्मविश्वास र विमानतिर ध्यान नदिँदा दुर्घटना भएको दाबी गरे ।

मन्त्रीले लाहोरबाट कराँचीको उडान गरेको विमानका पाइलटले आफ्नो परिवारमा भएको कोरोना संक्रमणको बारेमा कुराकानी गरेको बताए । ‘जब कन्ट्रोल टावरले अवतरण अघि पाइलटलाई विमानको उचाई बढाउनका लागि भनेको थियो, त्यो बेला पाइलटमा भएको बढी आत्मविश्वासले उनले आफैं व्यवस्थापन गर्ने कुरा गरेका थिए । जसकारण यो दुर्घटना भयो । विमान दुर्घटनाको विस्तृत अनुसन्धान हामी एक वर्षमा पूर्ण गर्नेछौं’, उनले भनेका छन् । मन्त्री खानले पाइलट र एटीसी दुवैले प्रोटोकलको पालना नगरेको आरोप लगाए ।