पोखरा । गजलकार अनुराग अधिकारीलाई मातृशोक परेको छ । अधिकारीकी ८५ वर्षीया आमा बद्रीमाया अधिकारीको गत बिहीबार पोखरामा निधन भएको हो । दम रोगका कारण समस्या देखिएपछि अधिकारीलाई पोखराको मेट्रोसिटी हस्पिटलमा लगिएकोमा उपचार हुँदा हुँदै अपरान्ह ३ः३० बजे अस्पतालले मृत्युको घोषणा गरेको थियो ।
अधिकारीका २ छोराहरु अनुराग (पिताम्बर) र दीननाथ छन् भने ६ छोरीमध्ये नारायणी सुवेदी, पार्वती सिग्देल, शारदा बराल, राधा बराल, भगवती पौडेल रहेका छन् । माहिली छोरी कृष्णा भट्टराई र श्रीमान् विश्वनाथ अधिकारीको निधन भइसकेको छ । अधिकारीका २३ जना नाति नातिनी रहेका छन् ।
अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुुराग अधिकारी सुगम संगीत यात्राका अध्यक्ष, गीतकार प्रतिष्ठान, नेपालका महासचिव पनि हुन् । उनी शिक्षण, साहित्य र सञ्चारका क्षेत्रमा क्रियाशील छन् । अनुरागकै रचना, हरिहर खनियाको संगीत र सीडी विजय अधिकारीको स्वरमा रहेको ‘आमा तिम्रो पाउमा शिर राखी जिन्दगीभर थाक्दिनँ म’ बोलको गजलमा बद्रीमायाले अभिनयसमेत गरेकी थिइन् । अधिकारी परिवार हालपोखरा–३१, वेगनासमा रहेको घरमा काजक्रियामा रहेका छन् ।