पत्रकार ध्रुवको लेख उत्कृष्ट

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणामा पत्रकार ध्रुव लम्सालको लेख उत्कृष्ट भएको छ । संघमा उपलब्ध भएकामध्ये छनोट समितिले १३ वटा लेख (सर्ट लिष्ट) निकालेर छनोट प्रक्रिया सुरु गरेको थियो । त्यसमा पनि मापदण्डसहित मूल्याङ्कनको आधारमा ८ लाई तय गर्दै छनौट समितिले चार लेखलाई उत्कृष्ट ठहर गरेको हो ।

जसमा ध्रुव लम्साल, विष्णु शर्मा, मनोज न्यौपाने र रिना मोक्तानको लेख उत्कृष्ट भएका छन् । नेपाली चलचित्र क्षेत्रको वर्तमान वस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने संभावनाहरुलाई पनि समावेश गरि चलाइएको यस्तो अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने संघको दाबी छ ।

उत्कृष्ट ४ लाई अनुकुल समयमा क्रमश १५ हजार, १० हजार र पाँच–पाँच हजार (कर बाहेक) र प्रमाण पत्र सहित प्रदान गरिने छ । छनौट गरिएको लेख सञ्चारमाध्यमा प्रकाशन गरिने व्यवस्था संघले मिलाउने संघले जनाएको छ । छनोट समितिमा विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामी छन् ।