मुम्बई(एजेन्सी) । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि पनि उनको चर्चा जारी छ । गुगलले बिहीबार आफ्नो साइटमा गत जूनमा अभिनेता सुशान्तलाई सर्वाधिक खोजिएको जनाएको छ । कम्पनीका अनुसार ४ हजार ५ सय ५० प्रतिशत वृद्धिका साथ सूर्य ग्रहण सूचीको दोस्रो स्थानमा छ । आम मानिसहरुले सुशान्त पछि सूर्य ग्रहणलाई चासो दिएको गुगलले जनाएको छ । त्यस्तै सूचीमा फादर्स डे १ हजार ६० प्रतिशतका साथ तेस्रो स्थानमा छ ।
सुशान्तले गत जून १४ मा मुम्बईको बान्द्रास्थित आफ्नो निवासमा आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्म, बुलिङ र खेमाबाजीको विषयलाई लिएर बहस चलिरहेको छ । कैयौं सेलिब्रेटीमाथि यसको आरोप पनि लागेको छ । जसमा करण जोहार, सलमान खान, आलिया भट्ट र सोनम कपूर आबद्ध छन् । सुशान्तको आत्महत्या पछि अमेरिकामा रहेकी उनकी बहिनी श्वेता सिंह कीर्ति र पति विशाल कीर्तिले हालै ट्वीटरमा सुशान्तले बलिउडमा नेपोटिज्म अर्थात् भाई भतिजावाद र परिवारवादको मापनका लागि नेपोमिटर बनाएको दाबी गरेकी छन् ।
यो नेपोटिमरको प्रयोग गर्दै आलिया–पूजा भट्ट र आदित्य रोय कपूर स्टारर फिल्म ‘सडक २’लाई निशानमा पारिएको छ । नेपोटिज्मलाई मध्यनजर गर्दै यो फिल्मलाई बहिस्कार गर्न उनीहरुले अपिल गरेका छन् । यो फिल्मका निर्माता महेश भट्ट र मुकेश भट्ट हुन् । फिल्मको निर्देशन महेशले गर्नेछन् ।