शाहरुखको सिग्नेचर स्टेपसँग सरोजको सम्बन्ध

मुम्बई(एजेजन्सी) । बलिउड कोरियोग्राफर सरोज खानको निधन पछि बलिउड शोकमा छ । तमाम कलाकार र बलिउडका डान्सर तथा कोरियोग्राफर सरोजलाई सम्झिइरहेका छन् । उनीहरुले सरोजसँग बिताएका पुराना दिनको स्मरण गरिरहेका छन् ।  सायदै त कमैलाई मात्र थाहा होला, अभिनेत्री माधुरी दिक्षितलाई बलिउडकी डान्सिङ स्टार बनाउने मात्र होइन, अभिनेता शाहरुख खानलाई उनको प्रख्यात सिग्नेचर स्टेप दिने कोरियोग्राफर पनि सरोज नै हुन् ।

सरोजको निधन पछि सामाजिक सन्जालमा सरोजको एक पुरानो भिडियो भाइरल भइरहेको छ । भिडियोमा शाहरुखले हात फैलाउने स्टेपको आइडिया कसरी आयो भन्ने कुरा बताएकी छन् । ‘फिल्म बाजीगरको सुटिङका समयमा मैले शाहरुखलाई यो स्टेप दिएको थिएँ । हामी मौरिससमा फिल्मको गीत ‘बाजीगर ओ बाजीगर’ को सुटिङ गरिरहेका थियौं । यो गीतमा शाहरुख खान अगाडि हिँड्दै आउँछन् र आफ्नो सर्ट खोलेर नाम देखाउँछन् । त्यही बेला मैले उसलाई तिमी आउनु अनि हात फैलाउनु भनें । उनले त्यही कुरा गरे, जुन अहिले दर्शकले मनपराइरहेका छन्’, उनले भनेकी छन् ।

शाहरुखको हात फैलाउने स्टेप समयसँगै यति लोकप्रिय भयो कि यसले उनको पहिचान नै बनाइदियो । यसलाई शाहरुखको सिग्नेचर स्टेप भन्न थालियो र शाहरुख जहाँ पुग्दा पनि उनले यो स्टेपलाई कतै छुटाएनन् । अवार्ड होस् या कुनै शोमा पुग्दा अथवा फिल्मको प्रमोसनमै जाँदा पनि शाहरुखले यो स्टेपलाई कहिल्यै छुटाउदैनन् ।
सरोजको गत शुक्रबार कार्डियक अरेस्टका कारण निधन भएको थियो । उनी ७१ वर्षकी थिइन् । बलिउडमा उनले आफ्नो डान्सिङ करियर सन् १९५० को अन्त्यमा गरेकी थिइन् ।