दलाई लामाको फिल्म मोह

मुम्बई(एजेन्सी) । १४ औं दलाई लामा ल्हामो थोनडप आज आफ्नो ८५ औं जन्मदिन मनाउँदैछन् । दलाई लामालाई विश्वभरमा शान्तिको सन्देश दिएबापत नोबल पुरस्कार दिइसकिएको छ । उनी लामो समयदेखि भारतमा नै बस्दै आएका छन् ।

दलाई लामा जब सानो थिए, त्यही बेलादेखि उनमा फिल्म प्रति लगाव थियो । बाल्यकालदेखि नै उनलाई घरबाहिर निस्कन धेरै अनुमति थिएन । उनको जीवन एक साधारण बालकको भन्दा भिन्न थियो । उनलाई बाल्यकालदेखि नै भगवान बराबरको उपाधि दिइएको थियो । फुर्सदको समयमा दलाई लामा आफ्नो घरको छतमा गएर दुरबिनको सहायताले सारा सहरमा नजर लगाउथे । उनी मानिसहरु आउनेजाने गरेको हेर्थे र प्रकृतिको सुन्दरता नियाल्थे । एक समय उनलाई फिल्म पनि हुन्छ र त्यो हेर्दा निकै रमाइलो हुन्छ भन्ने थाहा भयो । त्यो समयमा दलाई लामा निकै सानो उमेरका थिए । त्यो समयमा तिब्बतमा जहाँ दलाई लामा बस्दथे, त्यहाँ दुई अंग्रेज आएर बसेका थिए ।

दुवै विदेशी अष्ट्रियन पर्वतारोही थिए । जसमा एकको नाम हेनरिक हारेर र अर्कोको नाम पिटर अफसेनेटर थियो । हेनरिक करिब ७ वर्ष तिब्बतमा बसे । उनी विस्तारै दलाई लामाको मिल्ने साथी बने । तर उमेरले हेनरिक दलाई लामा भन्दा ठूला थिए । दलाई लामा खाली समयमा हेनरिकलाई बोलाउथे र विश्वभरका बारेमा जानकारी लिन्थे । एक दिन दलाई लामाले तिब्बतमा उनको घर नजिकै एक फिल्म सेट बनोस भन्ने इच्छा व्यक्त गरे । यो इच्छा हेनरिकले नै पुरा गरिदिए ।

हेनरिकले तिब्बत र दलाई लामासँगको भेट अनुभवलाई संगालेर एक पुस्तक लेखेका थिए । पुस्तकको नम उनले ‘७ इयर्स इन तिब्बत’ राखे । यही किताबमा आधारित रहेर यस्तै नाममा एक फिल्म बन्यो । फिल्ममा हेनरिकको भूमिका अभिनेता ब्राड पिटले निभाएका थिए । जबकी दलाई लामाको भूमिका भूटानी अभिनेता जामयाङ जाम्स्तो वाङचुकले गरेका थिए । फिल्ममा भारतीय अभिनेता डेनी डेनजोङ्पाको पनि अभिनय थियो । दलाई लामाले केही फिल्ममा पनि अभिनय गरेका छन् । ती फिल्ममा ‘ब्रिङगिङ तिब्बत होम’, ‘व्हाट रिमेन्स अफ अस’, ‘व्हील अफ टाइम’, ‘द सन बिहाइन्ड द क्लाउड्स’, ‘कुन्दन और जर्नी अफ जैन्सकर’ छन् ।