भारतीय सहयोगमा इलाममा विद्यालय

काठमाडौं । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत इलामको बरबोटे गाविसमा अवस्थित सप्तमाई गुरुकुल संस्कृत विद्यालयको उद्घाटन भएको छ । ३१.१३ मिलियन लागतमा निर्माण गरिएको विद्यालयको औपचारिक उद्घाटन बरबोटे गाउँ विकास समिति, विद्यालय व्यवस्थापन समिति र भारतीय राजदूतावासका प्रतिनिधिहरुले सोमबार भिडियो कन्फरेन्समार्फत गरे ।

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यस विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइनु विद्यालयको नवीनतम पक्ष हो । इलामसँग जोडिएका अन्य जिल्लाहरुबाट आएका विद्यार्थीहरुका लागि विद्यालयले आवासीय सुविधा प्रदान गर्दछ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित यस चार तल्ले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् जसमा दशवटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौवटा शयन कक्ष, चारवटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधाहरु रहेका छन् । जिल्ला समन्वय समिति इलामले यस परियोजनाको कार्यान्वयन गरेको हो ।