सुशान्तको मृत्युले मजदुरलाई तनाव !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि अहिले त्यसको मानसिक तनाव एक मजदुरले भोग्नु परेको छ । यो मामला सुशान्तको मृत्युपछि सामाजिक सन्जालमा सक्रिय उनकी पूर्व प्रेमिका अंकिता लोखण्डेको फ्यान पेजसँग जोडिएको छ ।

मध्यप्रदेशका एक २० वर्षे मजदुरको मोबाइलमा सुशान्तको नाम लिएर आउने अधिक फोनले उनी निकै तनावमा छन् । तनावको अनुपात बढ्दै गएपछि उनले प्रहरी नै गुहार्नु परेको छ । प्रहरीको उजुरी गरेपछि प्रहरीको साइबर सेलले यो विषयमा छानविन शुरु गरेको थियो । छानविनबाट सुशान्तको पूर्व प्रेमिका अंकिताको नाममा फेसबुकमा रहेको एक फ्यान पेजको ‘एबाउट’ सेक्सनमा यी मजदुरको फोन राखिएको खुलासा भएको छ ।

प्रहरीका एसपीले सुशान्तको मृत्युपछि मजदुरको मोबाइलमा अधिक संख्यामा फोन आउने गरेको जानकारी दिए । ‘उनको मोबाइलमा अधिक फोन आएको पाइयो । जहाँ केही मानिसले गलत नम्बर सम्झेर फोन काटेका छन् भने केहीले सुशान्तको मुद्दामा फोनमा आफ्नो भावना व्यक्त गरेका छन्’, उनले भनेका छन्, ‘झन्डै चालिस हजार मानिसले यो पेजलाई फलो गर्दा रहेछन् । यो सत्यताको अनुसन्धान गर्नका लागि प्रहरीले मेसेन्जरमा यो पेजलाई चलाउने व्यक्तिको सन्देश फरवार्ड गरेको थियो । तर त्यसमा कुनै प्रतिक्रिया आएन ।’

प्रहरी अब उक्त पेज चलाउने व्यक्तिको खोजीमा जुटेको छ । सुशान्तको मृत्युपछि सामाजिक सन्जालमा उनलाई न्याय दिलाउनका लागि यस्ता किसिमका कैयौं फ्यान पेज सक्रिय छन् । सुशान्तले गत जून १४ मा मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेका थिए ।