डान्सिङ वीथ द स्टार नेपालको अन्तिम तयारी

काठमाडौं । लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले सबै तयारी पहिला नै सकिसके पनि लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको बताए ।

‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं ।’ उनले भने । २६ श्रृंखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक–एकजना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिन्छन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ ।  ‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने– लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याने निधो गरेका छौं ।’

नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी अभ्यास र सुटिङ गरिने कँडेलले जनाए । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ । अनस्क्रिन प्रतिस्पर्धासँगै हुने स्क्रिन बाहिरका गतिबिधिले दर्शकलाई नृत्यमार्फत शारिरिक तथा मानसिक स्वास्थ्य मजबुद बनाउन सहयोग पुग्ने टेलिभिजनले बिश्वास लिएको छ ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । विजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन । नेपालको अग्रणी व्यापारिक समूह आइएमइले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने एनएमबी बैंक पावर्डबाइ स्पोन्सर रहेको छ । असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाललाइफइन्स्योरेन्स, अनलाईन खबर, नेपालहोम्स डटकम सहभागी भएका छन । आफ्ना मनपर्ने स्टार कन्टेस्टेन्टलाई आइएमइ पे को एप्स डाउनलोड गरी भोट गर्न सकिनेछ ।

हिमालय टेलिभिजन एचडीले ‘द भ्वाइस अफ नेपाल’ ‘द भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता बिश्वचर्चित रियालिटी सोहरु प्रसारण गर्दै आइरहेको छ । डान्सिङ वीथ द स्टार्स प्रसारण सुरु भएसँगै भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।