काठमाडौं । कोभिड– १९ का कारण सरकारले लागु गरेको लकडाउन सुरु भएपछि आम नागरिकहरुले के कस्तो समस्या झेल्नु परेको छ ? भन्ने विषय समेटेर सर्ट फिल्म ‘लकडाउन’ निर्माण गरिएको छ । सञ्चारकर्मी रामजी ज्ञवाली निर्देशित फिल्ममा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ ।
आर्थिक अवस्थाले झन् झन् तड्पिरहेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुभेर उनी प्रति देखाएको सद्भाव र सहयोग समेत फिल्ममा राखिएको छ । जुन बिषयले धेरैलाई भावुक बनाउने निर्माण युनिटको अपेक्षा रहेको छ । द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिविन्द खनिया, बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको अभिनय देख्न सकिन्छ ।
रामजीकै लेखन तथा निर्देशन रहेको फिल्ममा निमा शेर्पाको छायांकन तथा सम्पादन रहेको छ । फिल्मको छायांकन काठमाडौ र ललितपुरमा गरिएको हो ।