लसएन्जल्स(एजेन्सी) । विश्वविख्यात पपस्टार माइकल ज्याक्सनको निधन भएको ११ वर्ष पुगेको छ । निधनको यति लामो समयमा पनि उनका बारेमा नयाँ नयाँ कुरा सार्वजनिक भइरहेका छन् । एकपटक पुनः माइकलको बारेमा नयाँ रोचक कुरा सार्वजनिक भएको छ ।
हालै मात्र सार्वजनिक भएको माइकलको जिन्दगीमा आधारित पुस्तक ‘बेडः एन अनप्रेसिडेन्टेड इन्भेस्टिगेसन इनटू द माइकल ज्याक्सन कवर अप’मा माइकल अमर हुन चाहेको तर उनलाई कसैले मार्न चाहेको हो कि भन्ने डर रहेको खुलासा गरिएको छ । यो पुस्तकलाई अष्ट्रेलियन पत्रकार डायलन हावर्डले लेखेका हुन् । हावर्डले यो पुस्तकलाई लेख्नुको कारण माइकलको रहस्यमयी डायरीलाई मानेका छन् । जुन डायरी यसअघि कसैको हातमा परेको थिएन ।
डायलनको पुस्तक अनुसार माइकल पुनः आफूलाई सार्वजनिक गर्न चाहन्थे । माइकल ऋण चुक्ता गर्न अन्तिम प्रयासमा लागेका थिए । उनी एक हप्तामा २० मिलियन डलर कमाउथे । उनी भित्र विश्वकै पहिलो अरबपति इन्टरटेनर, अभिनेता र निर्देशक बन्ने चाहना थियो । त्यसका लागि उनी विशेष काम गर्न चाहन्थे । यो काम गर्न उनले एक सूची पनि तयार पारेका थिए ।
उनको सूचीमा क्रिक डू सोलेइल कन्सर्ट, एथलेटिक्स ब्रान्ड नाइकका साथ सम्झौता र हलिउड फिल्म थियो । उनी यस्ता व्यक्तिको खोजीमा थिए, जो २० हजार लिग्स अन्डर द सी र द सेवन्थ वोइज अफ सिनबाद जस्ता क्लासिक फिल्मको रिमेक बनाउने सोच राखेको होस् । उनी आफ्नो करियरलाई पुनः शुरु गरेर आफ्नो आदर्श चार्ली चाप्लिन, माइकल एन्जेलो र वोल्ट डिज्नीजस्तो अमर हुन चाहन्थे ।