मुम्बई(एजेन्सी) । एक समय थियो, जब रानी मुखर्जी र प्रीति जिन्टा जुम्ल्याहा दिदीबहिनी जस्तै सँगै हुन्थे । फिल्म ‘चोरी–चोरी चुपके–चुपके’का समयमा रानी र प्रीति घनिष्ठ साथी बने । उनीहरुको सम्बन्ध यति दह्रो बन्यो कि फिल्मका अभिनेता सलमान खानले कैयौं पटक आफूलाई उपेक्षित अनुभव गर्थे । त्यो समयमा रानी र प्रीति दुवै ए ग्रेडका अभिनेत्री थिए । दुवैले त्यो समयका शीर्ष अभिनेताहरुसँग काम गरिरहेका थिए ।
प्रीति आफूलाई जहिल्यै बाहिरी मान्छे मान्थिइन् । रानीसँगको दोस्तीले उनको करण जोहार क्याम्प र शाहरुख खानसँग राम्रो सम्बन्ध स्थापित भयो । प्रीतिलाई रानी उनलाई भन्दा बढी ऐश्वर्या रायलाई चाहन्छिन् र तारिफ गर्छिन् भन्ने भ्रम थियो । ऐश्वर्या र रानीले करियरको शुरुवातमा विश्व भ्रमण सँगै गरेका थिए । त्यो समय उनीहरुका एकापसमा नजिकिए । रानी जहिल्यै पनि चाहे जेसुैकै भए पनि आफूले ऐश्वर्यासँगको सम्बन्ध नतोड्ने बताउने गर्थिन् । तर फिल्मको प्रतिष्पर्धामा तीन अभिनेत्रीबीच पर्खाल खडा भइदियो ।
फिल्म ‘चलते चलते’मा शाहरुख खानले पहिला अभिनेत्री ऐश्वर्यालाई अनुबन्धित गरेका थिए । सलमान खानसँग झगडा पछि ऐश्वर्याको स्थान रानीले लिएकी थिइन् । ऐश्वर्याले यो कुरा कहिल्यै भुल्न सकिनन् । ऐश्वर्यासँग झगडा भएपछि रानी प्रीतिसँग नजिकिइन् । तर जब करण जोहारले आफ्नो फिल्म ‘कल हो न हो’ मा प्रीतिलाई अनुबन्धित गरे, यो कुराले रानीलाई दुःखित बनायो । रानीलाई शाहरुख आफ्नो मिल्ने साथी भएको र उसले आफूलाई सघाउछन् भन्ने आशा थियो ।
रानीलाई जहिल्यै पनि यशराज फिल्मका निर्माता तथा निर्देशक यश चोपडाले आफ्नो समर्थन गर्ने सोच राख्थिइन् । तर यशले एक अन्तरवार्तामा ‘यो समयको सबैभन्दा उत्कृष्ट अभिनेत्री प्रीति’ रहेको बताएपछि त्यो भनाईले रानीलाई धक्का महशुस भयो । त्यसपछि रानीले आफूले अर्थपूर्ण फिल्म खेल्ने निर्णय लिइन् । त्यसपछि उनले ‘ब्ल्याक’ जस्ता फिल्ममा अभिनय गरिन्, जुन फिल्म बक्स अफिसमा हिट नभए पनि समीक्षकले राम्रो भनी प्रशंसा गरे ।
रानीले हालैमात्र एक अन्तरवार्तामा फिल्म उद्योगमा कोही दुई अभिनेत्री असल साथी बन्न नसक्ने बताएकी थिइन् । ‘चाहे तपाईं दोस्रोका लागि धेरै राम्रो नै किन नसोच्नुहोस्, जसै फिल्मको अफर आउँछ, त्यो बेला तपाईंहरु एकअर्काको प्रतिष्पर्धी बन्नुहुन्छ । तर प्रीतिसँगको सम्बन्ध अन्त्य आज पनि मलाई अफसोचको विषय बनिरहेको छ’, रानीले भनेकी छन् ।