क्रान्तिवीरको क्लाइमेक्समा अस्वस्थ थिए नाना

मुम्बई(एजेन्सी) । हरेक वर्ष बलिउडमा कैयौं फिल्म रिलिज हुन्छन्, जसमध्ये केही फिल्मलाई दर्शकले चाँडै बिर्सन्छन्, त केहीलाई जीवनभर सम्झिइरहन्छन् । यस्तै एक फिल्म छ, अभिनेता नाना पाटेगर अभिनित ‘क्रान्तिवीर’ । यो फिल्म रिलिजको साल सर्वाधिक कमाउने फिल्ममध्ये तेस्रो थियो ।

फिल्ममा नानाका अलावा अतुल अग्निहोत्री, ममता कुलकर्णी, परेश रावल र डिम्पल कपाडिया जस्ता कलाकारले निकै सानदार अभिनय गरेका थिए । नानाको फिल्मी करियरमा उत्कृष्ट फिल्मको नाम लिँदा यो फिल्म पनि पर्दछ । यो फिल्ममा उत्कृष्ट अभिनय गरेका कारण उनले सन् १९९५ को बेस्ट एक्टर विधामा नेशनल फिल्म एवार्ड पनि जितेका थिए ।

यो फिल्मको क्लाइमेक्स दृश्य यति मजदार थियो कि फिल्म हेर्न आएका दर्शकले हलमा गडगडाहट ताली नै बजाएका थिए । यो दृश्यको छायांकन निकै कठिनपूर्ण थियो । फिल्मको क्लाइमेक्सका लागि ८ सय कनिष्ठ कलाकारहरु बोलाइएका थिए । तर सुटिङ अघि नाना अस्वस्थ भए । नाना अस्वस्थ भएको खबर निर्माताको कानमा पर्ने बित्तिकै निर्माताले फिल्मले ठूलो घाटा व्यहोर्नुपर्ने भन्दै डराएका थिए । फिल्मका निर्देशक मेहल कुमार निकै उदाश भएर नानाको अगाडि पुगे र केही कुरा गर्न चाहे । तर नानाले मेहललाई ‘तिम्रो नोक्सान हुन दिन्नँ । वन टेक सुट गर्नेछु, सुटिङ कहिले हुन्छ मलाई भन्नु’ भन्ने जवाफ दिए ।

नानाले आफूले भने अनुसार नै क्लाइमेक्स दृश्य वन टेकमा पुरा गरे । त्यो दृश्यमा नानाले कैयौं संवादका लाइन आफ्नो मनबाट बोलेका थिए । उनी यस्तो फ्लोमा थिए कि निर्देशकले कट भन्नै परेन । त्यसपछि त्यो दृश्यको जुन परिणाम आयो, त्यो आफैंमा इतिहास बन्यो ।