कलाकार खोज्दै बारपाकी माया

काठमाडौं । गुरुङ संस्कारमा बनेको नेपाली फिल्म ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाकमा छायांकन गरिएको फिल्मले गुरुङ संस्कारको विषयलाई उत्थान गरेको थियो । बारपाक वीरचक्र भिसी गजे घलेको गाउँ हो । बारपाकमा घले र गुरुङको ठूलो बस्ती छ । लकडाउनको समयमा फिल्मको स्क्रिप्ट तयार पारिएको छ ।

‘बारपाकी माया २’ मा विशेष गरेर बारपाकको जनजीवन र त्यहाँको रहनसहनलाई समेटिने छ । करिब ८० लाखको बजेटमा निर्माण हुने फिल्मको छायांकन उत्तरी गोर्खाको बारपाक, लाप्राक, मम्चे डाँडा, धार्छेजस्ता रमणीय स्थानहरुमा गरिनेछ ।

२०७२ सालको महाभुकम्प अघि बनेको फिल्मले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो । महाभुकम्पले उक्त गाउँ तहसनहस भएको थियो, अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ । लकडाउनको समाप्ती सँगै नेपाल सरकारले छायांकन गर्ने अनुमति दिनासाथ छायांकनमा जाने तयारीमा रहेको छ ।

प्रितम गुरुङले निर्देशन गर्ने फिल्ममा केहि कलाकार पुराना दोहोरिने र धेरै नयाँ रहने छन् । फिल्मको लागि कलाकारहरु अडिसनमार्फत छानिने छन् । फिल्म निर्माण कम्पनीले फिल्ममा काम गर्न चाहनेहरुले अडिसनमा भाग लिन आव्हान गरेको छ ।