दिल बेचारालाई उच्च रेटिङ

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ओटीटी प्लेटफर्मममा शुक्रबारबाट रिलिज भएको छ । फिल्मको रिलिज पछि फ्यानका भावना सामाजिक सन्जालमा देखिन थालेका छन् । सामाजिक सन्जालदेखि लिएर रेटिङ एप्ससम्म फ्यानले फिल्मलाई उचाईमा पुर्याउने कोशिस गरिरहेका छन् । फ्यानकै कारण फिल्मले आइएमडीबी रेटिङमा नयाँ रेकर्ड राखेको छ । यो फिल्मले रिलिजको केही घण्टामै १० मा १० रेटिङ पाएको छ । यो आफैंमा एउटा रेकर्ड हो ।

यो फिल्मलाई थिएटरमा रिलिज गर्ने तयारी भइरहेको थियो । तर कोरोना भाइरसको कारण फिल्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम गरियो । फिल्ममा सुशान्तसँगै संजना संघीले स्क्रिन शेयर गरेका छन् । उनीहरुबाहेक स्वास्तिका मुखर्जी, शाश्वत चटर्जी र साहिल वेद पनि प्रमुख भूमिकामा छन् । कास्टिङ निर्देशक मुकेश छाबराले निर्देशन गरेको यो फिल्म उनको डेब्यू निर्देशन हो ।

फिल्ममा दुई क्यान्सर बिरामीको प्रेमकथा देखाइएको छ । सन्जनाले किजी बासुको भूमिका निभाएकी छन्, जो थाइराइड क्यान्सरसँग जुधिरहेकी हुन्छिन् । सुशान्तले मैनीको भूमिका निभाएका छन्, जो किजीको जिन्दगीमा खुशियाली लिएर आउछन् । फिल्मको संवाद दर्शकमाझ निकै लोकप्रिय बनिरहेको छ ।

फिल्म रिलिज पछि फ्यानहरु भावनात्मक रुपमा डुबेका छन् । उनीहरुले सामाजिक सन्जालमा नियमित रुपमा फिल्मको संवाद र स्क्रिन सट शेयर गरिरहेका छन् ।