अंकितको फिल्मलाई पाँच सय युरो पुरस्कार

काठमाडौं । निर्देशक अंकित पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ दि क्लाउड’ इटलीको फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ । मृत्युपछिको जीवनलाई कल्पना गरी बनाइको फिल्म एसोलो आर्ट फिल्म फेस्टिभलमा आर्ट फिल्म सेक्सनतर्फ विजेता बनेको हो । विजेता बनेसँगै फिल्मले ५ सय युरो पुरस्कार जितेको छ ।

अंकित निर्देशित फिल्म यही वर्षको जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । त्यसयता यो फिल्म अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट आदि फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ । फिल्मले वल्र्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितिसकेको छ ।

नेपालको अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका अंकित हाल भने अमेरिकाको विस्कन्सिन मिल्वाउकी युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरेका छन् ।  अंकितले फिल्म थप केही फेस्टिभलमा पनि छनोट भएको तर त्यसको घोषणा हुन बाँकी रहेको जानकारी दिए । छायांकारको रुपमा २० भन्दा बढी काम गरेका अंकितको ‘सङ अफ दि क्लाउड’ डेब्यु फिल्म हो ।