ऐश्वर्या र आराध्या डिस्चार्ज

मुम्बई(एजेन्सी) । मुम्बईस्थित नानावती अस्पतालमा कोभिड–१९को उपचार गरिरहेका बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको स्वाब टेस्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । यो कुराको जानकारी ऐश्वर्याका पति तथा अभिनेता अभिषेक बच्चनले दिएका हुन् ।

‘तपाईंहरुको प्रार्थनाका लागि धन्यवाद । हामी सधैं आभारी छौं । राम्रो कुरा यो हो कि ऐश्वर्या र आराध्याको टेस्ट नेगेटिभ आएको छ र उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । अब उनीहरु घरमै बस्नेछन् । म र पिता मेडिकल स्टाफको रेखदेखमा अस्पतालमा हुनेछौं’, अभिषेकले ट्वीट गरेका छन् ।

४६ वर्षीया ऐश्वर्या र ८ वर्षीया आराध्याको कोभिड रिपोर्ट १२ जुलाईमा पोजेटिभ आएको थियो । तर लक्षण नदेखिएपछि दुवैलाई होम क्वारेन्टाइनमा राखिएको थियो । तर जुलाई १७ मा आमा छोरीको स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई नानावती अस्पताल लगिएको थियो । उनीहरु १० दिनसम्म अस्पतालमा बसेका थिए ।