चियाको सौखिन गब्बर सिंह

मुम्बई(एजेन्सी) । बलिउडमा फिल्म ‘शोले’को विशेष महत्व छ । बक्सअफिसमा ब्लकबस्टर हिट यो फिल्मका कलाकारहरु फिल्मी इतिहासमा एउटा अजर अम्मर पात्र हुन् । फिल्ममा डाकु गब्बर सिंहको भूमिकामा अभिनय गरेका अमजद खान दर्शकमाझ उत्तिकै लोकप्रिय पात्र हुन् । यिनै अमजदको सोमबार पुण्यतिथी हो ।

अमजदको हृदयघातका कारण निधन भएको थियो । निधनको समयमा उनी ५१ वर्षका थिए । ‘गब्बर सिंह’ फिल्म ‘शोले’को भिलेन भए पनि दर्शकका लागि उनी हिरो साबित भए । फिल्ममा अमजदले निभाएको गब्बरको भूमिका फिल्म उद्योगको इतिहासमा सबैभन्दा खतरनाक रुपमा लिइन्छ । हिन्दी फिल्मका पछिल्ला सबै डाकुमध्ये गब्बर अलग थिए, उनी भिलेनका रुपमा सोच्दैन थिए, जुन कुरालाई हिन्दी फिल्मका दर्शकले मनपराए ।

फोहोरी कमिज, ठूलो दाह्री, खैनी चबाएर थुक्ने गब्बरको त्यही चरित्र अहिले पनि आम दर्शकको दिमागमा छाप सरह बसिरहेको छ । गब्बर पछि हिन्दी फिल्मका दर्शकले भिलेनलाई नयाँ रुपले हेर्न थाले । यद्यपि अमजद फिल्म ‘शोले’मा गब्बर सिंहको भूमिकाका लागि पहिलो रोजाईमा थिएनन् । यो भूमिकामा अभिनेता डेनी छनोट भएका थिए । अमजदले यसअघि सन् १९५१ मा रिलिज फिल्म ‘नाजनीन’मा बाल कलाकारका रुपमा काम गरिसकेका थिए । १७ वर्षको उमेरमा सन् १९६७ मा उनले ‘अब दिल्ली दूर नहीं’ मा पनि काम गरेका थिए ।

सन् १९७३ मा रिलिज भएको फिल्म ‘हिन्दुस्तानकी कसम’मा पनि उनले अभिनय गरेका थिए । तर उनी यस्तो भूमिकाको पर्खाइमा थिए, जुन भूमिकाले उनी बलिउडमा स्थापित हुन चाहन्थे । फिल्म ‘शोले’ले अमजदलाई बलिउडमा स्थापित मात्र गरेन, गब्बर सिंहको भूमिकालाई एउटा ब्राण्ड नै बनाइदियो । उनले बोलेका संवाद ‘कितने आदमी थे?’, ‘अब तेरा क्या होगा कालिया ?’, ‘जो डर गया, समझो मर गया’ जस्ता संवादलाई अमजादले नयाँ आयाम दिए ।

उनी चियाका निकै सौखिन थिए । उनी हरेक दिन ३० कप चिया पिउथे । उनले ‘शोले’, ‘कालिया’, ‘लावारिस’, ‘कुर्बानी’, ‘याराना’लगायतका हिट फिल्ममा अभिनय गरेका थिए ।