को बन्ला मनिषको जोडी ?

काठमाडौं । क्लोथिङ ब्राण्ड डक्टर डेनिमले निर्माण गर्न लागेको अनटाइटल्ड नेपाली फिल्ममा फिल्म ‘प्रेमगीत ३’ डेब्यू अभिनेता मनिष राउत अनुबन्धित भएका छन् । फिल्म आगामी वर्ष रिलिज हुनेछ ।

डक्टर डेनिमका सिइओ निलुस गौतमका अनुसार फिल्ममा मनिषका लागि नायिकाको खोजी भइरहेको छ । फिल्ममा गौतम निर्माता रहनेछन् । फिल्मका निर्देशक, लेखकसहित अन्य टिमबारे केही खुलाइएको छैन । केहि समयमा नै फिल्मको शिर्षकसँगै लेखक तथा निर्देशकको परिचय दिने योजना रहेको निर्माता गौतमले बताए ।

’मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मको लागि ब्राण्ड एम्बेसडर बनाएका थियौं । उहाँको क्रेजबाट हामीले हाम्रो ब्राण्ड स्थापित गर्न सफल बन्यौं । अब हामीले उहाँलाई नै लिएर फिल्म बनाउन लागेका छौं’, निर्माता गौतमले भने ’मनिषको क्रेज मात्र नभएर उहाँको अभिनय क्षमताले पनि हामी प्रभावित छौं । हामीले ‘प्रेम गीत ३’को टीजर तथा ओस्कार कलेज पढ्ने बेलामा गरेको केहि लघु चलचित्रको अभिनय हेरेका थियौं । उक्त चलचित्रमा उहाँले गरेको अभिनयले भोलीको स्टार बन्ने ढोका खोल्नेमा म ढुक्क छु’ ।

पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्री गर्ने डक्टर डेनिममा मनिष पाँच बर्षको लागि ब्राण्ड एम्बेसडर छन् । स्क्रिप्ट तयार भईसकेको यो फिल्म नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने बताइएको छ ।