आदित्यनारायणः फिल्ममा फ्लप, टेलिभिजनमा हिट

मुम्बई(एजेन्सी) । गायक तथा होस्ट आदित्य नारायण झा एक सांगीतिक परिवारका सदस्य हुन् । उनका पिता प्रख्यात गायक उदित नारायण झा हुन् । चार वर्षको उमेरमा नै आदित्यनारायणले पाश्र्व गायनमा पाइला चाले । गायनका अलावा आदित्य टेलिभिजनका कैयौं शोको होस्ट पनि गरिसकेका छन् । उनको आज जन्मदिन हो ।

आदित्यले कल्याणजी वीरजी शाहबाट गायनको प्रशिक्षण लिएका छन् । त्यो समयमा उनले ‘लिटिल वन्डर्स कन्सर्ट’मा गीत गाएका थिए । यो एउटा यस्तो प्लेटफर्म थियो, जहाँ बालबालिकाहरुले कुनै पनि किसिमको कला प्रस्तुत गर्न सक्दथे । आदित्यले तीन सय भन्दा बढी कन्सर्टमा प्रस्तुति दिइसकेका छन् । सन् १९९२ मा आदित्यले पाश्र्व गायकका रुपमा पहिलोपटक नेपाली फिल्म ‘मोहनी’मा आफ्नो स्वर दिएका थिए । आदित्यले फिल्म ‘रंगीला’मा गायिका आशा भोसलेका साथ केमियो गायन पनि गरेका छन् । यसपछि आदित्यले सन् १९९५ मा आफ्ना पिता उदित नारायणका साथ पहिलोपटक ‘अकेले हम अकेले तुम’मा गीत गाएका थिए ।

बाल कलाकारका रुपमा आदित्यले कैयौं फिल्ममा अभिनय गरेका छन् । सुभाष घईले उनलाई फिल्म ‘परदेश’का लागि अनुबन्धित गरेका थिए । यो फिल्ममा शाहरुख खान र महिमा चौधरी प्रमुख भूमिकामा थिए । आदित्यको दोस्रो फिल्म ‘जब प्यार किसी से होता है’ थियो । यो फिल्ममा सलमान खान र ट्वींकल खन्ना प्रमुख भूमिकामा थिए । बाल्यकालमा आदित्यले झन्डै सय बढी गीत गाइसकेका छन् । आदित्यले गाएको प्रख्यात गीत सन् १९९६ मा रिलिज फिल्म ‘मासुम’को ‘छोटा बच्चा जान के’ हो । उनले सन् २००९ मा रिलिज फिल्म ‘शापित’मा पनि अभिनय गरेका थिए ।

तर अभिनयबाट उनले केही ठूलो सफलता पाउन सकेनन् । उनले हालसम्म १० भन्दा बढी रियालिटी शोको होस्ट गरिसकेका छन् । एकपछि अर्को शोको होस्ट गरिरहँदा उनको लोकप्रियता उत्तिकै चुलिँदो छ ।