काठमाडौं । विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पु¥याउने प्रयास अनुरुप भारतीय सेनाले आइतबार नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्टिलेटरहरु नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रदान गरेका हुन् ।
एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् । यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ । यसको अलावा विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा यी भेन्टिलेटरहरु सहज र उपयोगी छन् ।
मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको हो ।