मुन्नाभाइ एमबीबीएस गीतकार राहतको निधन

मुम्बई(एजेन्सी) । भारतका प्रख्यात कवि तथा गीतकार राहत इन्दौरीको कोरोना संक्रमणसँगै हृदयघातका कारण निधन भएको छ । उनी इन्दोरको एक अस्पतालमा भर्ना भएका थिए । भोपालका स्थानीय पत्रकार शुरैह नियाजीका अनुसार ७० वर्षे राहतलाई कोरोना र श्वास लिन समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

इन्दोरको श्री अरविन्द अस्पतालका डाक्टर विनोद भण्डारीका अनुसार मंगलबार उनलाई दुई पटक हृदयघात भएको थियो । उनलाई ६० प्रतिशत निमोनिया पनि भएको थियो । राहतले मंगलबार बिहान मात्रै ट्वीटरमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनको निधनपछि यही एकाउन्टबाट उनको निधनको सूचना दिइएको थियो । शुरैहका अनुसार सम्भवता राहतका छोराले यो ट्वीट गरेका हुन् ।

राहतको जन्म जनवरी १, १९५० मा भएको थियो । इन्दोरकै नूतन स्कुलबाट उनले माध्यमिक शिक्षाको पढाई पुरा गरे । उनले इन्दोरकै इस्लामिया करीमिया कलेजबाट ग्राजुएसन गरेपछि बरकतुल्लाह विश्वविद्यालयबाट एमए गरेका थिए । विगत ५० वर्षदेखि उनी मुशायरा र कवि सम्मेलनमा आफ्नो कविता वाचन गर्थे ।

उनले बलिउडका लागि केही चर्चित गीत पनि लेखे । जसमा फिल्म ‘घातक’को ‘कोइ जाए तो ले आए’, ‘इश्क’को ‘निन्द चुराई मेरी तुमने वो सनम’ र ‘मुन्नाभाइ एमबीबीएस’मा ‘एम बोले तो मुन्ना भाई एमबीबीएस’ जस्ता लोकप्रिय गीत छन् ।