सन्जय दत्तका पाँच किस्सा

मुम्बई(एजेन्सी) । बलिउडका खलनायक अर्थात् अभिनेता सन्जय दत्त फोक्सोको क्यान्सरको चौथो चरणमा छन् । फिल्म समीक्षक कोमल नाहटाका अनुसार सन्जयको फोक्सोमा पानी भरिएको थियो । पानी बाहिर निकालेपछि उनको पुनः परीक्षण गरिएको थियो ।

सन्जयसँग जोडिएका पाँच किस्सा बलिउडमा निकै लोकप्रिय छन् । सन् १९५९ जुलाई २९ मा जन्मिएका सन्जयको पहिलो फिल्म ‘रकी’ हो । जुन सन् १९८१ मा रिलिज भएको थियो । फिल्मको रिलिज अघि नै सन्जयलाई लागुऔषधको आदत शुरु भएको थियो । एक दिन लागु औषध लिँदा सन्जय दुई दिन उठ्दैन थिए । यसपछि उनी दुई वर्ष अमेरिकामा रहेको रिह्याबिटेसन सेन्टरमा बसे । यहाँ बसेपछि उनले लागुऔषध छोडे ।

आफ्नो ३९ वर्षे फिल्मी करियरमा सन्जयको नाम कैयौं अभिनेत्रीसँग जोडिए । एक समय अभिनेत्री रेखासँगको सम्बन्धले पनि उनी चर्चामा आए । त्यो समयमा सन्जय र रेखाले विवाहसमेत गरेको खबरको चर्चा थियो ।

सन् १९८६ मा राजेन्द्र कुमारले आफ्नो छोरा कुमार गौरवको करियर बनाउनका लागि फिल्म ‘नाम’ बनाए । यो फिल्ममा सन्जय पनि अनुबन्धित भए । यो फिल्म सन्जयको करियरका लागि टर्निङ पोइन्ट बन्यो र उनले बलिउडमा आफ्नो पाइलालाई स्थापित गराए । सन्जयको अभिनयबाट अमिताभ बच्चन यति प्रभावित भए कि कुमार गौरव र सन्जय दुवैलाई उनको आफ्नो घरमा खानाका लागि बोलाएर सुनको चेन उपहार दिए ।

बलिउडका भाइजान अर्थात सलमान खान सन्जयको ठूलो फ्यान हुन् । ९० को दशकमा सलमानले सन्जयवाला हेयर स्टाइल पनि राखेका थिए । सन्जयले सलमानलाई बडी बनाउन र जिम जान सल्लाह दिएका थिए ।

एक समय सन्जय र धकधक गर्ल अर्थात् अभिनेत्री माधुरी दिक्षितको विवाह हुन लागेको खबर बाहिर आएको थियो । तर सन्जयलाई टाडा लागेपछि उनी जेल गए । यसपछि माधुरी पछि हटिन् र उनीहरुको सम्बन्ध टुट्यो ।