मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री श्रीदेवी र तेलुगू सुपरस्टार रजनीकान्त बीचको एउटा रहस्यका बारेमा कमैलाई थाहा होला । त्यो के हो भने श्रीदेवीले रजनीकान्त बिरामी हुँदा ७ दिनसम्म उपवास बसेकी थिइन् । सन् २०११ मा फिल्म ‘राणा’को सुटिङका समयमा रजनीकान्त अस्वस्थ थिए । उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि उनलाई सिंगापुरको एक अस्पतालमा भर्ना गरिएको थियो ।
अभिनेत्री श्रीदेवी रजनीकान्तको नजिकको साथी थिइन् । जब श्रीदेवीले रजनीकान्तको स्वास्थ्य अवस्थाको बारेमा जानकारी पाइन्, त्यही समयमा उनले शिरडीका साई बाबासँग रजनीकान्तलाई निको होस् भनी प्रार्थना गरिन् । यसका लागि उनले सात दिनसम्म उपवास नै बसिन् । उनी पूणेमा रहेको साइ बाबा मन्दिरमा गएर पुजाआजा गरिन् । श्रीदेवी र रजनीकान्तले कैयौं फिल्ममा सहकार्य गरेका छन् । तीमध्ये ‘मूंदरू मुदिचू’, ‘जोनी’ प्रमुख छन् ।
आज श्रीदेवीको ५७ औं जन्मदिन हो । बिहादेखि नै श्रीदेवीका प्रशंसकहरु उनलाई सम्झिइरहेका छन् । श्रीदेवीको निधनपछि उनको परिवारमा पति बोनी कपूर र छोरीहरु जान्हवी र खुशी कपूर छन् ।