सञ्जय दत्त अस्पताल भर्ना

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सन्जय दत्त मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । पछिल्लो केही समयदेखि अस्वस्थ रहेका सन्जयलाई क्यान्सरको चौथो चरण शुरु भएको समाचार सार्वजनिक हुनासाथ फिल्मकर्मी र फ्यानमाझ चिन्ता छाएको थियो । यही अस्वस्थताले सञ्जयले केही समयसम्म फिल्मबाट मेडिकल ब्रेक लिने घोषणा नै गरिसकेका छन् ।

सञ्जयकी पत्नी मान्यताले शुरुवाती उपचार मुम्बईमा नै हुने जानकारी दिएकी छन् । उनले आम मानिसलाई कुनै पनि अनुमान नलगाउन अपिल गरेकी छन् । ‘हरेक जो हामीसँग सोधिरहेका छन्, म उनीहरुलाई भन्न चाहन्छु कि सञ्जुले मुम्बईमा प्रारम्भिक उपचार गर्नेछन् । हामी बाहिर जाने योजना बनाइरहेका छौं । कोभिड–१९ को अवस्थामा सुधार आउनसाथ बाहिर जाने तयारी गरिनेछ । हालका लाग सञ्जु कोकिलाबेन अस्पतालमा हाम्रा राम्रा डाक्टरको रेखदेखमा हुनेछन्’, मान्यताले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

मान्यताले सञ्जयका लागि गरिएका प्रार्थना प्रति आभार व्यक्त गरेकी छन् । ‘सञ्जुलाई यति वर्षदेखि मिलेको प्रेम र स्नेहका लागि उनका सबै प्रशंसक तथा शुभचिन्तकप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु’, उनले भनेकी छन्, ‘म सबैलाई हात जोडेर अनुरोध गर्दछु कि उनको बिरामी चरणमा अनुमान नलाउनुहोस् र डाक्टरलाई आफ्नो काम गर्न दिनुहोस् । हामी उनको स्वास्थ्य अवस्थाको बारेमा तपाईंहरुलाई निरन्तर जानकारी दिनेछौं ।’

मान्यता हालका दिनमा होम क्वारेन्टाइनमा छिन् । सोही कारण उनी सञ्जयसँग अस्पताल जान पाएकी छैनन् । उनले क्वारेन्टाइनको समय सकिएपछि आफू सञ्जयसँग हुने बताएकी छन् । सञ्जयसँग उनकी बहिनी प्रिया दत्त छिन् ।