अमिताभ र सलमानबीच टीआरपी टक्कर

मुम्बई(एजेन्सी) । हालै मात्र अभिनेता सलमान खानको शो ‘बिग बोस १४’को टिजर रिलिज भयो । टिजर रिलिज पछि शोका फ्यानलाई शोलाई लिएर कौतुहलता बढिरहेको छ । यो शो सेप्टेम्बरबाट टेलिभिजनमा आउदैछ । उता अभिनेता अमिताभ बच्चन पनि आफ्नो सुपरहिट शो ‘कौन बनेगा करोडपति’को सिजन १२ का साथ दर्शकमाझ आउदैछन् ।

समाचार अनुसार ‘कौन बनेगा करोडपति’का निर्माताले शोको अभियानको तयारी शुरु गरिसकेका छन् । अभियानको नेतृत्व प्रख्यात लेखक तथा निर्देशक नितेश तिवारीले गरेका छन् । शोको रजिष्ट्रेशन राउण्ड हालै सकिएको छ । कोरोना संक्रमणबाट स्वस्थ्य भइसकेका अमिताभ घरमा नै थप स्वास्थ्य लाभ गरिरहेका छन् । त्यही कारण आगामी महिना शो शुरु हुनेमा उनी ढुक्क छन् ।

अमिताभ र सलमानको शो सेप्टेम्बरमै शुरु हुने भएपछि दुवैको शोबीच टीआरपीको टक्कर हुने अनुमान गरिएको छ । गत वर्ष पनि ‘बिग बोस’ र ‘केबीसी’को टीआरपीको दौड भएको थियो । जसमा शुरुवातमा अमिताभको शोले बाजी मारेको थियो । तर केही हप्ता पछि सलमानको शोले अग्रमोर्चा लियो । तर यसपटक कसको शोमा दर्शकको चासो बढी हुन्छ भन्ने कौतुहलताको विषय बनेको छ ।