एपमा नेपालका चर्चित हास्य कलाकारहरु

काठमाडौं । नेपाली हास्यव्यंग्य कलाकारको जीवनी संग्रहित पहिलो पुस्तक ‘नेपालका चर्चित हास्य कलाकारहरु’ अब एपमा आएको छ । पुस्तकका लेखक जीवनराज दाहालले केही नयाँ सोचका साथ नयाँ हास्यव्यंग्य कलाकारको नामावली थपेर निःशुल्क रुपमा पढ्न मिल्ने एप्लिकेसन बनाएका हुन् । लेखक जीवनले पाठकले आफ्नो एन्ड्रोइड मोबाइल वा ट्याब्लेटबाट निःशुल्क रुपमा किताब नै पल्टाएझैं पाना पल्टाएर पुस्तक पढ्न सक्ने बताए ।

७२ जना हास्यव्यंग्य कलाकारको फोटोसहितको जीवनी समेटिएको एपमा नयाँ पुराना तीन सयजति कमेडी कलाकारको नाम समेटिएको छ । नेपालमा हास्यव्यंग्यको सुरुवात, गाइजात्राको सुरुवात, फिल्ममा हास्यरसको सुरुवात, नेपालका हास्य जोडीहरू लगायत देशका विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूको शुभकामना समेत समेटिएको छ ।

नेपाली एप्स घरले सार्वजनिक गरेको उक्त एपको नाम ‘बायोग्राफी अफ नेपाली कमेडी आर्टिष्ट’ राखिएको छ । पाँच एमबि साइज रहेको उक्त एपलाई प्लेस्टोरबाट आफ्नो एन्ड्रोइड सेटमा सजिलै इन्स्टल गरी पढ्न सकिन्छ ।

पुस्तकका सम्पादक उद्धवकुमार घिमिरेले हाल एन्ड्रोइड भर्सनमा पढ्न मिल्ने एपलाई सम्भव भएसम्म आइओएस भर्सनमा ल्याउने बताए । हिरादेवी नेपालद्वारा प्रकाशन गरिएको उक्त किताबलाई विश्व स्वतन्त्र सञ्चारले वितरण गरेको थियो ।