कालिकोटका बाढीपीडितलाई पलको सहयोग

काठमाडौं । अभिनेता पल शाहले कालिकोटका पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा सहयोग वितरणको सानो टोलीसहित पल काठमाडौंबाट कालिकोट पुगेर सहयोग गरेका हुन् ।

कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बाबजुद पल कालिकोट पुगेका हुन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानले त्यहाँका ४० परिवार पहिरो प्रभावितलाई खाद्यान्न, बिस्तरालगायतको सहयोग वितरण गरेको छ ।

पलले कालिकोट यात्रा क्रममा बाटोमा आफैंले खाना पकाएर खाएका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । कोभिड १९ सँग जुधिरहेका विपन्न नागरिकले विपद्को पनि एकैचोटी सामना गर्नु परेपछि समस्या भएको भन्दै आफुले सक्ने सहयोग सामग्री लिएर कालिकोट पुगेको पल बताउँछन् । बाढी पहिरोका कारण यात्रा कष्टकर भए पनि कालिकोटको पिडा महसुस गरेर सहयोग गर्न पुगेको उनको भनाई छ ।